सागर भण्डारी,बडिगाड । विद्यालयलाई प्रविधिमैत्री बनाउन बुद्ध माध्यमिक विद्यालय बडिगाड गाउँपालिका ६ खालमा कम्प्युटर प्रयोगशाला सञ्चालनमा आएको छ । प्रयोगशालाको बुधवार गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथि गण्डकी थापा अधिकारीले औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै थापाले सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिसहितका कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशाला निर्माणले शैक्षिक गुणस्तर वृद्धि गर्न टेवा पुग्ने बताउनुभयो । ‘निजी र सामुदायिक विद्यालयमा भएको शिक्षाको विभेद् कम गर्न एवं सामुदायिक विद्यालयमा व्यवहारिक, जीवनपयोगी र अब्बल शिक्षा प्रदान गर्न यसले महत्वपूणर् भुमिका निर्वाह गर्छ थापाले भन्नुभयो ।’ गाउँपालिकाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रमा नमुना योजना ल्याउने उहाँको भनाई थियो ।
कर्म फ्लाईट फाउण्डेसन नेपाल र एडुटेक संस्थाको १३ लाख लागत सहयोग तथा विद्यालयको सहकार्यमा प्रयोगशाला स्थापना भई सञ्चालनमा आएको हो । प्रयोगशालामा २० थान कम्प्युटर र एउटा फोटोकपी मेसिन लगाएतका विद्युतीय उपकरणहरु जडान भएका छन् । प्रयोगशालाबाट बिद्यालयमा अध्ययनरत ३ सय ५० भन्दा बढी विद्यार्थी लाभान्वित हुने विश्वास विद्यालयको छ ।
कक्षा ४-१० सम्म कम्प्युटर शिक्षा विषय पठनपाठन हुनेमा यसअगाडी विद्यालयमा रहेका कम्प्युटरले अपुग र असहज भएकोमा अब प्रयोगात्मक कक्षा प्रभावकारी ढङ्गले सन्चालन गर्न सकिने प्रधानाध्यापक कमल बहादुर अधिकारीले बताउनुभयो ।
प्राविधिक शिक्षाको आधारभूत मानवीय पूर्वाधार सञ्चालनमा आएको बताउँदै प्रधानाध्यापक अधिकारीले नविनतम प्रबिधिको प्रयोगमार्फत समयानुकूल हुन र दक्षता अधिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रयोगशाला उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीको विशिष्ट आतिथ्यता एवम् बडिगाड गाउँपालिका वडा न. ६ का वडाध्यक्ष विर बहादुर खत्री, नेपाली काँग्रेस बडिगाड गाउँ कार्यसमिति सभापति एवम् वडा नं ७ का निवर्तमान वडाध्यक्ष कृष्ण गुरुङ, वडा नं ६ का निवर्तमान वडाध्यक्ष मौसम काजी क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सयोंजन सहयोगी संस्थाको तर्फबाट प्रेम बहादुर कार्कीले गर्नुभएको थियो ।