जनक आधारभूत विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशालाको गाउँपालिका अध्यक्ष थापाद्धारा उद्घाटन

जनक आधारभूत विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशालाको गाउँपालिका अध्यक्ष थापाद्धारा उद्घाटन

Badigad Online
2 Min Read

सागर भण्डारी,बडिगाड । बडिगाड गाउँपालिकाले गाउँपालिकामा रहेका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने कार्य थालेको छ । जसअन्तर्गत वडा नं ७ भिमगिठे स्थित जनक आधारभूत विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन र कम्यूटर अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षण सहित दक्षता प्रदान गर्न प्रयोगशाला स्थापना गरिएको विद्यालयले जनाएको छ ।

बिहिवार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले दुबै प्रयोगशालाको प्रमुख अतिथिका रुपमा उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष थापाले शिक्षालाई व्यवहारिक र दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रको रुपमा स्थापित गर्न गाउँपालिका भित्र रहेका विद्यालयहरुमा प्रयोगशाला स्थापना गर्ने कार्य बढाउँदै लगिने बताउनुभयो । उहाँले आजको आवश्यकता प्रविधिमैत्री र गुणस्तरीय शिक्षा रहेको भन्दै सामुदायिक विद्यालयहरुको शैक्षिक स्थिति वृद्धि गर्न यस्ता कार्यक्रमहरु फलदायी रहने समेत धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार बजेटमा १२ थान कम्प्युटर सहित आवश्यक विद्युतीय उपकरण तथा १ थान प्रोजेक्टर जडान गरिएको हो । त्यस्तै विज्ञान प्रयोगशालाका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आधारभूत तह विज्ञान प्रयोगशाला कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँमा आवश्यक सामाग्री जडान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक डिल्लीराज अर्यालले बताउनुभयो । उहाँका अनुसार विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला स्थापना भएपछि १ सय भन्दा बढी विद्यार्थी लाभान्वित हुने भएका छन् ।

विद्यालयमा प्रयोगशाला नहँुदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या थियो । प्रध्यानाध्यापक अर्यालले भन्नुभयो, हाल विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।

प्रयोगशाला उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक सघंका पदाधिकारी,अभिभावक,शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित