सागर भण्डारी,बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाले लोकल मदिरालाई ब्राण्डिङ गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले मदिराको विक्री वितरण गरेर नै जिविकोपार्जन गरिरहेका विपन्न तथा गरिब घरपरिवारहरुलाई आर्थिक उपार्जनसगं जोड्न यस्तो नीति लिईएको बताउनुभयो ।
त्यस्तै थापाले भाँगो खेतीलाई नगदेबालीको रुपमा अगाडी बढाउने समेत बताउनुभयो । नीति तथा कार्यक्रमले सामाजिक न्याय सहितको लोक कल्याण्कारी स्थानीय तह स्थापित गर्दै बडिगाड गाउँपालिकालाई आर्थिक,सामाजिक,भौतिक,शैक्षिक,धार्मिक,सांस्कृतिक तथा पर्यटकीय रुपबाट सम्मुन्नत,आत्मनिर्भर र स्वाबलम्वी बनाउने थापाले बताउनुभयो ।
गाउँपालिकाले कृषिलाई प्रमुख प्राथमिकता दिई नीति कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन कार्यक्रम,फलफुल दशक विरुवा कार्यक्रम,एक घर एक करेसाबारी कार्यक्रम सुरुवात गर्ने, कृषिमा आत्मनिर्भर बनाउन कृषक उन्मुख कार्यक्रमलाई प्रोत्साहन गर्ने, गाउँपालिकालाई लक्षित गरी मसला बालीलाई बढावा दिने,गाउँपालिका भित्र एक वडा कृषि गाउँको रुपमा छनोट गरी स्मार्ट कृषि गाउँ कार्यक्रम सुरुवात गर्ने,कृषि सकंलन केन्द्रको स्थापना गरी बजारीकरणको व्यवस्था मिलाउने,एक घर एक टनेल प्रविधि आत्मसाथ गरी तरकारी खेतीमा आत्मनिर्भर बनाउने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
त्यस्तै पशुहरुमा कृक्रिम गर्भाधान गरि दुध उत्पादन बढाउने,निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने,युवालाई रोजगारीसगं जोड्न एक युवा एक उद्यमी कार्यक्रम सञ्चालन गर्ने,पशु बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै बिमा बापतको ५० प्रतिशत रकम गाउँपालिकाले बहोर्ने,आधुनिक उपकरणहरु वितरण गर्ने थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिका भित्रका ३ वटा नमुना बस्ती छनौट गरी नमुना पर्यटकीय गाउँको रुपमा विकास गर्ने,होमस्टेको स्थापना गर्ने,बडिगाड नदीमा बोडिङको सम्भाव्यता अध्ययन गर्ने,युवाहरुलाई उद्यमसगं जोड्न सीप विकास तालिम सञ्चालन गर्ने,दनियाँ घ्वाङ लगायतका ठाउँलाई सहकारी नमुना गाउँको रुपमा विकास गर्ने नीति बडिगाड गाउँपालिकाले लिएको छ ।
बेरोजगारको सुचीमा रहेका व्यक्तिहरुलाई क्षमता र सीपको आधारमा न्यूनतम रोजगारी सिर्जना गर्ने,पालिका स्तरमा विभिन्न उद्योग स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने,बडिगाड खोलानालाका कारणले हुने सम्भावित जोखिम न्यूनिकरण गर्न तटबन्धको व्यवस्था गर्ने,होम डेलिभरीको अन्त्य गर्ने,क्षयरोग मुक्त बडिगाड अभियान सञ्चालन गर्ने,प्रसुती प्रेषण कार्यक्रम सञ्चालन गर्ने,१ महिला स्वास्थ्य स्वयं सेविका १ स्टेचर अभियान सञ्चालन गर्ने,ग्रामिण स्थानमा गई गर्भवती महिलाको भिडियो एक्सरे गर्ने,पोषणमैत्री बडिगाड अभियान सञ्चालन गर्ने आमासगं गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरी मातृशिशु सेवा,सरसफाई तथा पोषण कार्यक्रमलार्य प्रभावकारी बनाउने,१० वटा बाल विकास केन्द्रमा दरबन्दी सिर्जन ागर्ने,आवश्यकता अनुसार गाउँपालिकाले करार शिक्षकको व्यवस्थ ागर्ने,गाउँपालिका भित्र थप १ वटा नमुना विद्यालय स्थापना गर्ने,विद्यार्थीहरुको समय समयमा स्वास्थ्य परिक्षण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने,असल शिक्षक,असल विद्यार्थी र असल अभिभावकलाई पुरस्कृत गर्ने,विद्यालयका शिक्षक,निजामति कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने,एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने,एक वडा एक खेलमैदान एक वडा एक कब्वोड हल निर्माण,महिला पुरुषले गर्ने समान कामका लागि समान ज्यालाको व्यवस्था गर्न पहल गर्ने,उपभोक्ता समितिको अध्यक्ष महिला भएमा सम्मान गर्ने,७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको सम्मान,आधारभूत स्वास्थ्य परिक्षण गर्ने,जेष्ठ नागरिकहरुका लागि तिर्थ यात्रा तथा भ्रमणको व्यवस्थ ागर्ने थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लेखिएको छ ।
वडा कार्यालयसगं जोडिएको मोटरबाटोलाई व्यवस्थित गरी बर्षैभरी सवारी चलाउन सक्ने बनाउने,मध्यपहाडी लोकमार्गको आसपासमा सडक बत्तीको अवधारणा अगाडी बढाउने,खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने,गाउँपालिकामा क्याम्पस स्थापनाका लागि भवनको डि.पि.आर गरी गौरवको योजनाको रुपमा अगाडी बढाउने, बडिगाड गाउँपालिका भित्र रहेका मध्यपहाडी लोकमार्गसगं जोडिएका मुख्य ससाना बजारहरुलाई ग्रामीण शहरको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै १ वर्ष भित्र उज्यालो गाउँपालिका घोषणा गर्ने,केन्द्रीय प्रशारण लाईन विस्तार गर्ने,नीजि तथा सरकारी कम्पनीहरुसगं समन्वय गरी हाईड्रो पावरमा लगानीको वातावरण बनाउने,नागरिक सहायता कक्षको स्थापना गर्ने,एकीकृत घुम्ती सेवा सचांलन गर्ने,प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने,आवधिक योजना तथा मध्यमकालिन खर्च संरचनाको खाका तयार गर्ने,नेपाल टेलिकमको टावर नपुगेको ठाउँमा टावर विस्तार गर्ने,गाउँपालिकाको मुख्य बजारहरुको फोहोर व्यवस्थापनका लागि डम्पिङ साईडको निर्माण गर्ने लगायतका कार्यक्रम बडिगाड गाउँपालिकाले लिएको छ ।