बागलुङ । सामान्य मर्मत र हिलो व्यवस्थापन नगर्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा फेरि यात्रीले सास्ती खेप्न थालेका छन् ।
दर्जनौ स्थानमा हिलाम्मे सडक र पहिरो तथा खाल्डैखाल्डाले यात्रा कठीन बनेको यात्रीले गुनासो गरे । बाटो खराब भएपछि दुइ घण्टामा पुगिने बागलुङ गलकोट यात्रा अहिले ५ घण्टासम्म लाग्ने अवस्था आएको स्थानीयले दुखेसो पोखे ।
दुइ साता अघिदेखिका पहिरो, खाल्डाहरु मर्मत नगरेपछि बढ्दै गएकोले यात्रा जोखिम भएको हो । दर्जनौ पहिरो, हिलाम्मे सडक र ठूला खाडलसमेतले लोकमार्गको बागलुङ हटिया खण्ड जोखिम बनेको गलकोट २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । घण्टौं समय लाग्ने सास्तीसँगै खाडल र पहिरोको जोखिमले जो कोही यात्रामा निस्कनसमेत डराउने गरेको उनले बताए ।
पश्चिम बागलुङका २ नगरपालिका र ५ गाउँपालिकाले यो सडक प्रयोग गर्छन् । रुकुमको पूर्व र पश्चिमबाट पनि पोखरा र काठमाडौंका लागि यो सडकबाटै नियमित सवारी छुट्छन् । ‘चारसय किमी यात्रा गर्दा अरु सबै राम्रो सडक छ, बागलुङदेखि गलकोट खण्डले साह्रै समस्या बनायो’, रुकुमका महेस केसीले भने, ‘सडक कालोपत्रे गर्न ढीला भए पनि नियमित सवारी चल्न सक्ने त हुनु प¥यो नी ।’ दाङहुँदै बुटवल,
काठमाडांैतर्फको यात्रा भन्दा छोटो भएकोले रुकुमवासीले दुई वर्षदेखि बागलुङको सडक प्रयोग गरिरहेका छन् ।
सवारी चालकले पनि बागलुङ खण्डमा मात्रै जोखिम भोगेको बताए । ‘लोकमार्गको पूर्व पश्चिम हिड्दा बागलुङको खण्ड जति जोखिम अन्यत्र छैन’, जिप चालक कोपिल बुढाथोकी मगरले भने, ‘कैयौं पटक बागलुङ बजार आइपुग्न नसकेर फर्केको छु ।’ झरी पर्नासाथ बागलुङको काठेखोला गाउँपालिका ५ र ६ मा सडक भत्कने र हिलाम्मे हुँदा यात्रा गर्न नसकेर फर्केर बासै बस्न बाध्य भएको उनले बताए । लोकमार्ग बनेपछि यात्रा सहज होला भन्ने आस गरेकाहरु नै पटक–पटक निराश बन्नु परेको बुढाथोकीले गुनासो गरे ।
सडकको समस्याले तीन महिनासम्म चलेको एक तालिमको समापनमा हिडेका पर्वत स्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका कर्मचारीले ४५ किमी यात्रा ७ घण्टामा मात्रै पार गरेको गुनासो गरे । ‘एकै दिन फर्कने योजना थियो, पुग्न पनि सकिएन’, ती कर्मचारीले भने, ‘यति जोखिम र अप्ठ्यारो बाटो कहिले पनि हिडेका थिएनौं ।’ दश वर्षदेखि यो सडक खण्ड अलपत्र छ । हरेक वर्ष ठेकेदारले बनाउने आश्वासन दिएपनि काम अलपत्रै छाड्ने गरेका हुन् । सदरमुकामदेखि अक्षेते सुल्डाँडासम्मको १३ किमी खण्ड सिद्धिसाइ भारत संयुक्त निर्माण कम्पनी र सुल्डाँडादेखि घोडाबाँधे खण्ड सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको छ । म्याद सकेको पनि चार वर्ष काटेको छ ।
आयोजनाको बागलुङ र पर्वत हेर्ने डिभिजन इन्जिनियर नारायण भण्डारीले सडक नियमित चलेको प्रतिक्रिया दिए । ‘ठेकेदारलाई भनिरहेका छौ, पहिरो खसेको बेला केही समय रोकिनेबाहेक सवारी नियमित चलेका छन्’, भण्डारीले भने, ‘निरन्तर काम गर्न लगाएर यातायात नरोकिने वातावरण बन्दैछ ।’ एकएक वटा डोजर राखेर पहिरो खस्दा तत्काल पन्छाउने व्यवस्था गरेको उनले दाबी गरे । यो सडक खण्डमा पटक पटक बस ठोकिएर स्वचालित ढोकासमेत बिग्रेका छन् ।
यात्री झर्दा ढोका नखुलेर ग्यारेजमा लगेर खोल्नु परेको चालकहरुले गुनासो गरे । सूर्य कन्स्ट्रक्सनले काम गरेको खण्डमा एउटा बस अट्ने ट्रयाक समेत छैन । ५ वर्षअघि कालोपत्रे भैसकेको घोडाबाँधेदेखि हटिया खण्ड पनि गत वर्षको बाढी पहिरोले क्षत बिक्षत छ । ‘दर्जनौं खाडलले सवारी दुर्घटना निम्तेका छन्, पहिरोले बस्तीसमेत जोखिम छ’, स्थानीय यामबहादुर श्रीषले भने ‘पटक पटक ध्यानाकर्षण गरेका छौं, न ठेकेदारले टेर्छ, न आयोजनाले वास्ता गर्छ ।’ सडक अबरुद्ध हुँदा घोडाबाँधेस्थित नेपाली सेनाको श्रीमेहर गणका जवानले खुलाउने गरेका छन् । ढोरपाटन दैनिकबाट