बाणगंगा । कपिलवस्तुमा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको ज्यान गएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ९ चम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नं. को बसले विपरित दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. ९ का ३० बर्षीय सुशील केसीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
दुर्घटनामा केसी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार मृतक केसीकी १७ बर्षीया बहिनी कुष्मा केसी घाइते भएकी छिन् । उनलाई उपचारका लागि बुटवल पठाइएको छ ।
ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गारुसिंगेको नियन्त्रणमा रहेको जनाइएको छ ।