गुल्मी । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै दिन शिलान्यास गरेका ३९६ अस्पतालमध्ये गुल्मी अस्पतालको अवस्था विजोग छ । २०७७ साल मङ्सिर १५ मा तामझाम तथा हतारहतारमा ती अस्पतालको शिलान्यास गरिएको थियो ।
केन्द्रीयमन्त्री, पूर्वमन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यले गाउँगाउँ पुगेर एकै दिन तीनवटा अस्पतालको शिलान्यास गरेका थिए । शिलान्यास भएको झण्डै २० महिना पुग्दा पनि स्थानीय तहकामा अस्पतालको निर्माण कार्य शून्य जस्तै छ । यहाँको छत्रकोट गाउँपालिकास्थित १५ शैया अस्पताल लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले अस्पतालको शिलान्यास गर्नुभयो ।
छत्रकोट–४ शृङ्गामा अस्पतालको शिलान्यास गरेको २० महिना पुग्न लाग्दासमेत अस्पताल बन्ने नबन्ने टुङ्गो नै छैन् । शिलान्यास गरिएको जग्गा भवन मापदण्डअनुसार नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले बताए । शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर जग्गा व्यवस्थापन भएकाले पालिका अध्यक्षले अहिले पनि फाइल बोकेर डीपीआरका लागि केन्द्रीय स्तरका नेता र सङ्घीय मन्त्रालयमा धाइरहहेको उनले बताए ।
मालिका गाउँपालिका-४, अर्खबाङमा पूर्वमन्त्री गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गरे । उक्त अस्पताल शिलान्यासमै मात्र सीमित भएको छ । जग्गा विवाद भएका कारण अस्पताल निर्माण कार्य हुन नसकेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए । इस्मा गाउँपालिका-४, दोहलीस्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माणको काम सुस्तगतिमा भइरहेको छ । अलिहेसम्म फिल्ड सम्याउने काम सकिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए ।
सत्यवती गाउँपालिका-६, जुहाङमा भने पिल्लर राख्ने काम सकिएको पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिए । अस्पताल निर्माणको कार्य हाल तीव्र गतिमा अगाडि बढेको भन्दै करिब ३५ प्रतिशत काम सम्पन्न भएको दाबी उनको छ । मदाने गाउँपालिका–६, पुर्कोटदहमा हिमदुम-एसी निर्माण कम्पनीले १२ करोड ४८ लाख रुपियाँ लागतमा अस्पताल निर्माणको सम्झौता गरेको छ। सो सम्झौताअनुसार पहिलो तलाको ढलान सकिएको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताए ।
धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेसमा पहिरो गएका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । त्यस्तै रुरु क्षेत्र गाउँपालिका-१ को रातामाटामा निर्माण भइरहेको अस्पतालको भवन निर्माण स्थलमा माटो राख्ने ठाउँका अभावका कारण समस्या भएको छ । सो अस्पताल १४ करोड ४२ लाख ८२ हजार रुपियाँको लागतमा निर्माण हुँदैछ । गोरखापत्रबाट