बागलुङ : बागलुङ बजारमा प्लाष्टिकजन्य बस्तु मिसाबट भएको चामल भेटिएको छ । उपभोक्ताले घरमा लगेर पकाएर खाने क्रममा गुणस्तरहिन तथा प्लाष्टिक जस्तो भेटेपछि यो कुरा बाहिर आएको हो ।
डल्लो पर्ने, भकुण्डो जस्तै उफ्रने भएपछि उक्त चामलको नमूना परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । चालम खरिद गरेका बागलुङ नगरपालिका–२ मा बस्ने कबिन्द्र बोहराले उजुरी गरेपछि प्रशासनले अनुगमनसमेत गरेको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले उक्त चामल परीक्षणका लागि काठमाण्डौंस्थित ल्याबमा पठाएको जनाएको छ ।
बागलुङ बजारस्थित कमर्शियल बहुउद्धेश्यीय सहकारी संस्थाको गोदामबाट उपभोक्ताले उक्त चामल खरिद गरेर लगेका थिए । प्रशासन, उपभोक्ता मञ्च र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले संयुक्त अनुगमन गरेपछि उक्त चामल परीक्षणका लागि पठाएको हो । बोहराले किनेको दुई बोरा चामल पनि सहकारीले फिर्ता लगेको छ । गुणस्तरहिन र प्लाष्टिकजन्य बस्तु मिसिएको चामल कसरी आयो भन्नेमा सबै अन्यौल बनेका छन् ।
‘यस्तो चामल कसरी आयो अध्ययन अनुसन्धान गर्नुपर्ने भयो’ उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘गुणस्तरहिन खाद्यबस्तु बेच्नेलाई कारवाही हुन्छ ।’ उनले यस्तो चालम कसरी आयो भनेर पनि अनुसन्धान गर्नुपर्ने बताए । परीक्षणको प्रतिवेदन आएपछि मात्रै कसलाई कति कारवाही हुन्छ भन्ने थाहा हुने श्रेष्ठको भनाई छ । श्रेष्ठले अखाद्य वस्तु सम्बन्धी ऐन आर्कषित हुने समेत जानकारी दिए ।
सहकारीले भैरहवाबाट चामल ल्याउने गरेको भेटिएको छ । उक्त चामल बिक्री गर्ने भारतीय व्यपारी र चामल पनि भारतीय ब्राण्डको भएको भेटिएको हो । ‘चामल नै प्लाष्टिकको बनाएको हो वा अन्य केमिकल प्रयोग भएको हो त्यो पत्ता लागेपछि जिल्लाभरि अन्यत्र पनि खोजी गरिनेछ’ श्रेष्ठले भने ।
कार्यालयका प्रमुख सौरभ श्रेष्ठले परीक्षणको प्रतिवेदन आएपछि मात्रै कस्तो कारवाही हुने भन्ने यकिन गरिने बताए । बजारमा चामलभन्दा प्लाष्टिकको मूल्य महंगो भएकोले सबै प्लाष्टिक नभई केही मिसावट भएको हुन सक्ने उनले अनुमान लगाए । उनी चामल लिएर केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा परीक्षणका लागि गएका छन् ।
अखाद्य बस्तु भेटिएपछि बागलुङका अन्य व्यवसायी पनि अन्यौल भएका छन् । उपभोक्ता र व्यापारी समेतले थाहा नपाई चामल कसरी आयो भनेर प्रशासनले पनि छानविन गर्नुपर्ने स्थानीयको मत छ । ‘यस्तो चामल खाँदा उपभोक्ताको स्वास्थ्यमा कति असर पर्छ भनेर अनुसन्धान हुन जरुरी छ’ श्रेष्ठले भने, ‘मानव अधिकारको पनि हनन् भएको छ ।’ बजारमा आउने अखाद्य बस्तुप्रति सबै नागरिक, अधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधि पनि सचेत बन्नुपर्ने उनले सुझाव दिए ।
ढोरपाटन राष्टिय दैनिकले समाचार लेखेको छ ।