६६ वर्षको बुढ्यौली उमेरमा एसईई पास

६६ वर्षको बुढ्यौली उमेरमा एसईई पास

Badigad Online
2 Min Read

बेनी । म्याग्दीका पौद्ध महिलाहरुले बुढ्यौलीमा माध्यमिक शिक्षा परिक्षा (एसर्ईई) उतिर्ण गरेर पढाईलाई उमेरले नछेक्ने भनाईलाई चरितार्थ गर्नुभएको छ ।

२०७८ को माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौद्धहरुले इच्छाशक्ति भएमा शिक्षा हाँसिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो ।

६६ वर्षीया वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीय योगमाया गौतमले १.५५ र ४३ वर्षीया दिलशोभा पुनले २.१० जिपिए ल्याएर यसपालीको एसइई उतिर्ण हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

जलजला गाउँपालिका-३ वारीबेनीकी मल्लले कक्षा ५ पढ्दा आमाको निधन भएपछि विद्यालय छोड्नुभएको थियो । “आमाको निधन भएपछि भाइबहिनी साना भएकाले पढ्न पाएको थिइन,” उहाँले भन्नुभयो “सामाजिक संघ संस्थामा काम गर्दा पढाईको आवश्यकता महशुस गरेर उज्यालो विद्यालयमा पढेर एसर्ईईमा सहभागी भएको थिए । सफल भए खुसी लागेको छ ।”

वारीबेनीको आमा समुह र विभिन्न उपभोक्ता समितिमा रहेर काम गनुभएकी मल्लले साथी भएमा माथिल्लो कक्षाको अध्ययनलाई निरन्तरता दिने बताउनुभयो । उज्यालो वैकल्पिक विद्यालयबाट दोस्रो समुहमा पाँच जनाले फर्म भरेकामा तीन जना सहभागि भएका थिए ।

विभिन्न कारणले बिचैमा पढाई छाडेका औपचारिक शिक्षाबाट बञ्चित प्रौद्धहरुलाई १० कक्षा सम्मको शिक्षाको अवसर दिलाउन बि.स. २०७३ देखि वैकल्पिक विद्यालय सञ्चालन भएको थियो । गत वर्ष सो विद्यालयबाट नौ जना प्रौद्ध महिलाहरुले एसर्ईई उतिर्ण भएका थिए ।

विद्यालयमा अध्ययनरत आमाहरुले अंक अक्षर चिन्न, लेख्न पढ्न नसक्दा मोवाईल चलाउन, कतै जाँदा ठाउँ चिन्न र भेला बैठकमा सहभागी हुँदा हस्ताक्षर गर्न ल्याप्चे लगाउनुपर्ने समस्याबाट मुक्ति मिलेको बताएका छन् । हाल ४० जना अध्ययनरत विद्यालयमा सात जना सहजकर्ता छन् ।

मासिक रु. ७५ हजार खर्च हुने विद्यालय सञ्चालनका लागि बेनी नगरपालिकाले सघाएको छ । नगरपालिकाको सहयोगका अतिरिक्त दाताहरुले पनि सहयोग गर्दै आएका छन् ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित