काठमाडौं : जीबन बिमा कम्पनीबाट रकम हत्याउनका लागि बाँकेमा ६ जनाको समूहले १ जनाको योजनाबद्ध हत्या गरेको खुलेको छ। झण्डै ६ महिनादेखि योजना बनाएर २१ वर्षीया किशोरको बिमा गरी, सवारी दुर्घटनामा मृत्यु भएको देखिने गरेर हत्या गरी उक्त समूहले बिमाबापत २ करोड ५० लाख रुपैयाँ लिएको खुलेको हो।
बाँकेको कोहलपुर नगरपालिका-११ बस्ने २१ वर्षीय सर्जन विक २०७८ वैशाख १ गते राति करिब ११ बजेको समयमा टिपरमा बालुवा लोड गर्ने भन्दै भे १ प १७२७ नम्बरको मोटरसाइकल चलाएर गएकोमा काम सकेर घर फर्किँदै थिए। बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा आइपुग्दा उनलाई भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दियो।
बसको ठक्करबाट घाइते भएर बाटोमा अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले त्यही राति उनलाई कोहलपुर मेडिकल कलेजमा लगेको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भयो।
ठक्कर दिने गाडीका चालक थिए बैजनाथ गाउँपालिका-८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री। यस्तै, मृतक सर्जन सवार मोटरसाइकलका धनी कोहलपुर-१५ का सरदार अहमत खाँ थिए। प्रहरीको अनुसन्धानपछि बसका चालक टोपबहादुरसहित खाँविरुद्ध पनि बाँके जिल्ला अदालतमा सवारी ज्यानको मुद्दा दर्ता भयो।
जिल्ला अदालतले २०७८ माघ २५ गते बसका चालक टोपबहादुरलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनायो भने मोटरसाइकल धनी खाँले सफाइ पाए।
अदालतले सवारी ज्यानको मुद्दा टुंग्याएपछि मृतक सर्जनको नाममा गरिएको जीबन बिमा र म्यादी जीवन बिमा वापत रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ बराबरको चेक भुक्तानी लिएर उनकी श्रीमती भनिएकी सपनाले कामना सेवा विकास बैंकको कोहलपुर शाखामा रहेको आफ्नो खातामा जम्मा गरिन्।
सपनाले बिमा बापतको रकम आफ्नो बैंक खातामा जम्मा गरेपछि रिलायन्स लाइफ इन्स्योरेन्सले ‘ठगीसम्बन्धी कसुर’मा अनुसन्धान गरीपाउँ भन्दै सीआईबीमा जाहेरी दिएको थियो।
तर, उक्त घटना नियोजित देखिएको र दुर्घटना पनि शंकास्पद रहेको भन्दै पुनर्बिमा कम्पनीले अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा उजुरी गरेपछि बिमाबाट रकम हत्याउनकै लागि हत्या भएको खुलेको हो। सीआईबीका अनुसार हत्या गरेर मृत्युजस्तो देखाउने र पछि पैसा लिने भनेर योजनाबद्ध रुपमै सर्जनको बिमा गरेर हत्या गरिएको थियो।
सीआईबीका अनुसार उक्त घटनामा शंकास्पद देखिएपछि ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा बिमाबाट प्राप्त हुने रकम लिनकै लागि विभिन्न व्यक्तिको मिलेमतोमा सर्जन विकको हत्या भएको खुलेको सीआईबीले जनाएको छ।
‘मृतक सर्जनको वार्षिक आम्दानीभन्दा बिमा बापत तिर्नुपर्ने किस्ताको रकम नै धेरै देखियो। त्यसमाथि वार्षिक आयको अधिकत्तम ४० प्रतिशत सम्मको मात्र बिमा गर्न सक्ने प्रावधान अनुरुप पनि बिमा भएको नदेखिएपछि घटना शंकास्पद लागेर हामीले अनुसन्धान अगाडि बढाएका थियौं,’ सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले भने, ‘नक्कली विवाह गराउने, त्यसपछि बिमा गराउने र रकम हत्याउने उनीहरुको मुख्य उद्देश्य देखियो। बिमाको रकम हत्याउनका सवारी दुर्घटनामा मृत्यु भएको देखिने गरी उनीहरुले सर्जनको हत्या गरेको खुलेको छ।’
प्रहरीले मृतक सर्जनकी श्रीमती भनिएकी बाँकेको कोहलपुर नगरपालिका-२ की २१ वर्षीया सपना मल्लसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा स्याङ्जाको वालिङ नगरपालिका–६ घर भइ बाँकेको कोहलपुर–१९ घर भएका ३१ वर्षीय सञ्जीब अर्याल, बाँकेको कोहलपुर नगरपालिका-१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेको बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर-११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर–१ की २१ वर्षीय आरति भनिने ललिता सापकोटा छन् ।
अनुसन्धानका क्रममा उनीहरुले सर्जनको बिमा गरी, दुर्घटनामा मृत्यु भएको देखाउन हत्या गरी बिमा बापत २ करोड ५० लाख हत्याउने योजना बनाएका खुलेको हो ।