काठमाडाै : तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ ।
पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् ।
दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले बताए । प्रहरी अनुसन्धानबाट पहिला श्रीमती र त्यसपछि दुई छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको खुलेको छ ।
उनिहरुको घर गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आश्राङ घर भएका उनीहरुको पदमसालमा एक तले घर थियो भने घर नजिकै चोकमा फेन्सी पसल रहेको थियो । स्थानीयवासीका अनुसार श्रीमान–श्रीमतीबीच पहिलेदेखि नै झगडा हुने गरेको थियो ।
विवादकै क्रममा श्रीमानले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो । घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना समेत गरेको खुलेको छ । घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलेको छ । हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले अरुको पनि सहयोगमा परिवारको हत्या गरेको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नदिएका हुन् । उनीहरुले घटनाको छानबिन हुनुपर्ने बताएका छन् ।
अहिले घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरिरहेका छन् । अवस्था तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको छ । कोठाभित्र श्रीमती भूइँमा र छोराछोरी खाटमा मृत फेला परेका थिए । श्रीमान पासो लगाएको अवस्थामा मृत फेला परेका थिए । विवादकै क्रममा माइती पक्षले छोरीलाई बेलायत पठाउने निर्णय गरेर भिसा पनि आइसकेको पाइएको छ ।बेलायत जाने तयारी हुँदै गर्दा परिवार नै सखाप बन्न पुगेको छ ।
शवको प्रकृति हेर्दा राति नै घटना भएको जस्तो देखिने प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ ।अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा.गोपाल चौधरी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
त्यसपछि प्रहरी वृत महाराजगञ्जका प्रमुख डिएसपी प्रमेश विष्टको नेतृत्वमा थप टोली परिचालन गरिएको छ