म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामेङमा आज बिहान पहिराले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।
पहिरोमा घर संगै पुरिएका घामबहादुर विकको परिवारका पाँचै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा पुरिएर दुई जनाको मृत्यु र तीन वेपत्ता भएकोमा वेपत्ता भएका तीन जनाको समेत शब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर ३८ बर्षिय घरमुली घामबहादुर विक, उहाँकी पत्नी ३४ बर्षिय राममायाँ विक, छोरा १५ बर्षका नविन विक, ३ बर्षका छोरा राजन विक र ७ बर्षिय छोरी अस्मी विकको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय गोठे विकको घर समेत बगाएको छ भने गोठे र उहाँकी श्रीमती गोरी विक घाईते हुनुभएको छ ।
उहाँहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको छ भने थप उपचारको लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी गरिएको छ । पहिरोमा पुरिएकाहरुको स्थानीयबासी, प्रहरी र जनपप्रतिनिधि समेतको टोली खोजी गर्दा शब फेला परेको बताइएको छ ।