काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुस सहित पक्राउ परेका छन् । को साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडीबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त रकम पनि नेपालले घूसबापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको बताए । प्याराग्लाईडिङ सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा दिएकोलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए ।
त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए ।
त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा स्वणर्पदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घुससहित रंगेहात पक्राउ परेका हुन् ।
उनी घुस सहित पक्राउ परेपछि मन्त्रालयकै अन्य कर्मचारी आश्चर्य भएका छन् । मेधावी र अत्यन्तै क्षमतावान उनले पैसा कमाउनका लागि घुस नै खानुपर्ने अवस्था नरहेपनि पक्राउ पर्दा आश्चर्य चकित भएको एक सहसचिवले बताए ।