सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मापन गर्न थालेको छ । नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गरिरहेका सेवा तथा स्वास्थ्य संस्थाहरुमा हुनुपर्ने न्युनतम मापदण्डको अवस्थाका बारेमा मापन गर्न थालिएको हो ।
न्युुनतम सेवा मापदण्ड अनुसार कार्य गर्न सकेमा स्वास्थ्य चौकीहरूको अवस्थामा सुधार हुने, सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सूचकाङ्कहरू माथि उकास्न सकिने हुनाले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मापन गर्न लागिएको नगरपालिकाका स्वास्थ्य सहसयोंजक पुष्कर गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्थाको अहिलेको वस्तुगत अवस्थाको विवरण तैयार हुने र त्यसकै आधारमा कमजोर रहेका स्वास्थ्य संस्थाहरुको सुधार गर्न समेत यसले सहयोग पुग्ने उहाँको भनाई छ ।
समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापन लगायतका विषय मापदण्ड मापनका आधार रहेका छन् । यसरी मापदण्ड मापन गरी उक्त स्वास्थ्य संस्थालाई अकं समेत प्रदान गरिने र आवश्यक सुझाव सल्लाहका साथै सुधार एवम् व्यवस्थापनको उपाय समेत खोजिने छ ।
उत्कृष्ट बन्यो वडागाउँ स्वास्थ्य चौकी
पहिलो चरणमा नगरपालिकाले नगरभित्र रहेका ३ वटा स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड मापन गरेको छ । वडा नं ४ मा रहेको वडागाउँ स्वास्थ्य चौकी,वडा नं ५ मा रहेको आँपचौर स्वास्थ्य चौकी र वडा नं ६ मा रहेको कुर्घा स्वास्थ्य चौकीको मापदण्ड मापन गरिएको हो ।
सुसासन र व्यवस्थापन,क्लिनिक सेवा व्यवस्थापन,स्वास्थ्य चौकी सहयोग सेवा व्यवस्थापन,दरबन्दी विवरण,भौतिक अवस्था लगायतका सूचकलाई आधार मानि गरिएको मापनमा वडागाउँ स्वास्थ्य चौकी उत्कृष्ट बनेको छ । जसले कुल अकको ७३ प्रतिशत अकंं प्राप्त गरेको छ ।
न्यूनतम सेवा सुधारका निम्ति दुई स्वास्थ्य संस्थालाई सकारात्मक सुझाव तथा सुधारको योजना बनाएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले बताउनुभयो । उत्कृष्ट भएको वडागाउँ स्वास्थ्य चौकी बाहेक २ स्वास्थ्य संस्थालाई कमी कमजोरी, सुधार तथा व्यवस्थापन गर्न सुझाव सहित नगरपालिकाबाट १/१ लाख रुपैयाँ बजेट विनियोजन समेत गरिएको र अबको ६ महिनामा पुन त्यसको परिक्षण र प्रगतीबारे अनुमगन गरिने उहाँको भनाई छ ।
भवन नहुँदा समस्या
मुसिकोट नगरपालिका भित्र १४ स्वास्थ्य संस्था रहेका छन् । ७ स्वास्थ्य चौकी,२ आधारभूत स्वास्थ्य सेवा केन्द्र,३ सहरी स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य ईकाई छन् ।
जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डमा आधारित ३ वटा स्वास्थ्य चौकीको मात्रै भवन रहेको छ । पौँदी अमराई स्वास्थ्य चौकीको भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
नगर स्वास्थ्य शाखाले न्यूनतम सेवा मापदण्ड मापन गर्दा भवन नभएका स्वास्थ्य संस्थाहरुको मापन गर्न कठिनाई हुने गरेको स्वास्थ्य सहसयोंजक गौतमले बताउनुभयो । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाई हुने भएकाले मापदण्ड मापनमा कम अकं आउने उहाँको भनाई छ । नगरपालिकाले यसपश्चात पौँदी अमराई स्वास्थ्य चौकीको मापदण्ड मापन गर्ने जनाएको छ ।