बागलुङ । वडा अध्यक्षले सांस्कृतिक बिचलन गरेको भन्दै बागलुङको जैमिनी नगरपालिका-९ पैञ्युथन्थापको वडा कार्यालयमा तालावन्दी गरिएको छ । निवर्तमान वडा अध्यक्ष भगिन्द्र कुमार थापासहित वडा कार्यालय पुगेका सर्वसाधारणले वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले वडाध्यक्षले नेपालको कानूनबिपरित सांस्कृतिक विचलन हुनेगरी बहुबिबाह गरेकाले वडाबासीसँग छलफलमा बस्नुपर्ने माग गर्दै आएका छन् । गत बिहिबारदेखि लगाईएको ताला खुल्न नसक्दा सर्वसाधारण वडाबाट प्रबाह हुने सेवा लिनबाट बञ्चित भएका छन् । वडा कार्यालय पुगेका सर्वसाधारण वडाध्यक्षको कार्यकक्षमा लगाएको ताला हेरेर फर्किने गरेका छन् ।
वडाध्यक्षले नेपालको कानूनविपरीत बहुबिबाह गरेको तथ्य केही समय पहिला बाहिर आएको थियो । बहुबिबाह गरेको बिषय सार्वजनिक भएपछि वडाध्यक्ष इन्द्र थापा कार्यालयमा उपस्थित भएका छैनन् । स्थानीयले बहुबिबाह जस्तो सांस्कृतिक बिचलन हुने काम कानूनी काम गरेकाले वडाबासीका सामु जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।
‘हामीले कुनै पार्टी विशेष तालाबन्दी गरेका होईनौं, यहाँका सर्वसाधारणले स्वस्फुर्त ताला लगाएका हुन्’ निवर्तमान वडाध्यक्ष भगिन्द्र कुमार थापाले भने ‘उहाँ आएर जनतासँग छलफल नगरेसम्म ताला खोलिँदैन् ।’ गत आईतबार वडा कार्यालय आएका वडाध्यक्ष थापाले वडा सदस्य मिना परियारलाई कार्यबहाकको जिम्मेबारी दिएका थिए ।
परियारले वडा अध्यक्षको कार्यकक्ष बाहिरै बसेर सेवा दिन सक्ने थापाले बताए । वडा कार्यालयमा तालाबन्दीको बिषयमा जानकारी पाएपछि तत्काल ताला खोल्न आग्रह गरिएको नगरप्रमुख नरबहादुर पुनले बताए ।
‘मैले तपाईंहरुका समस्या केही भए बसेर छलफल गरौंला तर ताला तत्काल खोल्नुस् भनेको छु’ थापाले भने ‘सरकारी अड्डामा ताला लगाउने काम गलत हो, यसरी समस्याको समाधान हुँदैन् ।’ पुनले कार्यपालिका बैठकको तयारीका कारण व्यस्त रहेकाले वडामा पुगेर समस्याका बिषयमा छलफल गर्ने बताए । ढोरपाटन दैनिकबाट