बागलुङ शव प्रकरण : ढोरपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट हिँडेका थिए तुल बहादुर

बागलुङ शव प्रकरण : ढोरपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट हिँडेका थिए तुल बहादुर

Badigad Online
2 Min Read

कविता घर्ती मगर, बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक सहितको टोली खटिएको छ ।

निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको शव फेला परेपछि घटनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो । विकको शव बुधबार टाउको चुडिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो ।

विकको हत्या वा अन्य केहि कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए । साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा राखिएको थियो ।

सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए । विकको शव पोष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पोष्टमार्टमको रिपोर्ट भने केहि दिनमा आउने प्रहरीले बताएको छ ।

खोलामा माछा मार्न गएका स्थानियले बुधबार विहान करिव १० वजेतिर खोलाको विच भागमा ढुँगामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृतक युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।

उनी गत २६ गते ढारपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट निस्किएका थिए तर मेलामा भने उनलाई कतै नभेटिएको मेलामा गएकाहरुले बताएका छन् । जनैपुर्णिमा मेला बुधबार सकिएको थियो तर बुधबार नै विकको शव फेला परेको हो । उनका दाँया हातमा ट्याटु लेखिएकोले टाउको नभएपनि शव पहिचानमा सहज भएको वडा सदस्य सुनारले बताए । मृतक विकको १८ महिने छोरी र श्रीमती छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित