बागलुङ । यहाँ नेपाल बन्दको आयोजाना गर्ने ४ दलीय कम्युनिस्टका ५ जना पार्टीकार्यकर्ता पक्राउ परेका छन् । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल , ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी सुशीलले नेतृत्व गरेको नेकपा माओवादी समाजवादी पार्टीले आयोजना गरेको बन्द सफल पार्न हिडेका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगाएतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । बागलुङ सदरमुकामका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताउनु भयो ।
राष्ट्रियता स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिविका, मुल्य वृद्वि, कालोबजारी, भ्रष्टाचार, कमिसनखोरी लगायत समसामयिक विषयमा वर्तमान सत्ता गठबन्धन सरकारको विरोध गर्दै ४ दलीय कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको जिल्लामा आंशिक प्रभाव परेको छ । बन्द आयोजना गर्ने ४ राजनीतिदलले एमसिसि सम्झौता, एसपिपि परियोजना खारेजीको विरूद्वमा समेत आन्दोलन भएको बिज्ञप्ती मार्फत जनाएको छ ।
बढ्दो महंगी भ्रष्टाचार नागरिकता विधेयक लगायतका समसामयिक विषयमा केन्द्रित भएर नेपाल बन्दको आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी चन्द समुहका बागलुङ म्याग्दी तथा मुस्ताङ इन्चार्ज ध्रुव घिमिरेले बताए ।
बन्दका कारण बागलुङबाट छुट्ने काठमाडौँ , पोखरा , नारायणगढ, बुटवल , काँकडभिट्टा , वीरगन्ज लगायतका दर्जनौं शहर जाने बस, मिनिबस , माइक्रो बस भने बिहानैदेखि ठप्प छन् । बागलुङ बजारका पसलहरू, सामुदायिक विद्यालय, निजी विद्यालयमा समेत पढाइ प्रभावित बनेको छ । नेपाल बन्द सफल पार्नको लागि बागलुङ सदरमुकाममा सोमबार मशाल जुलुस समेत प्रदर्शन गरिएको थियो ।