सागर भण्डारी,गुल्मी । होटल ब्यबसायी मञ्च मुसिकोट शाखाले मुसिकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
मुसिकोट नगरपालिका भित्र रहेका विद्यमान विभिन्न समस्याहरुका कारण जनस्वास्थ्यमाथि खेलवाड भईरहेको तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यवसायीहरुलाई व्यापार व्यवसायमा असहज भएको भन्दै विभिन्न ३ बुँदै माग सहित नगरप्रमुख जीवन खरेललाई बुधवार ज्ञापन पत्र बुझाएको हो ।
नगरप्रमुख खरेललाई बुझाईएको ज्ञापन पत्रमा नगरपालिका भित्र रहेका खानेपानी आयोजनाहरुबाट स्थानीयले उपभोग गरिरहेको खानेपानी पिउन अयोग्य रहेको भन्दै नागरिकको स्वास्थ्यको ख्याल गरी खानेपानीको शुद्धता तत्कालै मापन गर्ने प्रक्रिया अगाडी बढाउन माग गरिएको छ ।
ज्ञापन पत्रमा होटल व्यवसायबाट निस्कने फोहोर मध्ये सिसाजन्य फोहोरको व्यवस्थापन हुँन नसक्दा दुर्गन्ध फैलिनुका साथै यत्रतत्र सिसाका बोतलहरु फालेर दुर्घटना समेत निम्तन सक्ने भएकाले सिसाजन्य फोहोर व्यवस्थापनका लागि आवश्यक पक्रिया अगाडी बढाउन समेत आग्रह गरिएको छ ।
होटल व्यवसायीहरुले नगरपालिकाले नियमति रुपमा बजार अनुगमन गर्नुपर्नेमा त्यसो नहुँदा पालिका भित्र सञ्चालित पसलहरुमा पसलै पिच्छे फरक फरक मूल्य रहेको र दर्ता बिना सञ्चालनमा रहेका व्यवसायहरुको नियमन नभएकाले तत्कालै बजार अनुमगन गर्न समेत ज्ञापन पत्र मार्फत अनुरोध गरेका छन् ।
ज्ञापन पत्र ग्रहण गर्दै नगरप्रमुख खरेलले होटल व्यवसायीले उठाएका मागहरु जायज रहेको भन्दै सम्पूर्ण मागहरु सम्बोधनका लागि यथाशक्य पहल गर्ने बताउनुभएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले फोहोर व्यवस्थापनका लागि स्वयं व्यक्ति अथवा व्यवसायी नै जिम्मेवार बन्नुपर्ने भएपनि नगरपालिका आफ्नो दायित्वबाट भने कति पनि विचलित नहुने बताउनुभएको थियो । उहाँले खानेपानी र खाद्य वस्तुको गुणस्तर मापन गर्न समेत आवश्यक प्रक्रिया चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा न. ७ का वडाध्यक्ष हरिहर सापकोटा, होटल व्यवसायी मञ्चका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।