सागर भण्डारी, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं ६ खालमा ओडारमा बस्दै आउनुभएकी जुना दमाईको घर बन्न सुरु भएको छ ।
लामो सयदेखि ओडारमा बस्दै आउनुभएकी उहाँको बाँके जिल्लाको खजुरा गाँउपालिका वडा नं. ४ डिगाँउ नेपालगञ्ज स्थित स्थायी घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी लिल बहादुर थापाको सहयोगमा घर निर्माणको प्रक्रिया अगाडी बढेको हो ।
थापाकै एकल सहयोगमा केही समय अगाडी बडिगाड गाउँपालिका वडा नं ५ टारीमा दमाईलाई घडेरी खरिद गरि लालपुर्जा समेत हस्तान्तरण गरिएको थियो । सहयोगी लिल बहादुर थापाकै व्यक्तिगत सहयोगमा सोही जग्गामा घर निर्माणको काम सुरु भएको हो । थापाले घडेरी किन्ने देखि घर बनाउनेसम्मको जिम्मेवारी आफुले एक्लैले लिने यस अगाडी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
ओडारमा निकै कष्टकर जीवनयापन गरिरहेका जुनाको परिवारको बारेमा जिटिभि नेपालका सञ्चालक दिपक नेपालीले भिडियो सामाग्री प्रशारण गरेपश्चात सहयोगी थापाले उनीहरुलाई एकल लगानीमा घर बनाईदिने घोषणा गर्नुभएको थियो । अहिले घरको घडेरी खन्ने काम सम्पन्न भएको छ भने अबको केही दिन भित्रै घर निर्माण कार्य सम्पन्न हुने पत्रकार नेपालीले बताउनुभयो ।
सहयोगी थापाले ओडारमा बसेका परिवारको दर्दनाक पीडाले आफुलाई झस्काएको भन्दै घर निर्माण गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । ‘घर निर्माणको प्रक्रिया सुरु भएको देख्दा निकै खुसी लागेको छ थापाले भन्नुभयो, छिट्टै नै निर्माण सम्पन्न गरी जुना दिदीलाई हस्तान्तरण गर्नेछौँ ।’
आफुले भोगेको पीडा देखेर घर निर्माणमै सहयोग गरेको भन्दै जुनाले सहयागी थापा प्रति आभार व्यक्त गर्नुभयो । ४ परिवार सहित ओडारमा बस्ने उहाँले आफ्ना लागि भगवान कोही छ भने उहाँनै रहेको बताउनुभयो ।
दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेका दमाई परिवारलाई घर निर्माण गरेर दिनु निकै नै सह्रानीय कार्य रहेको बडिगाड गाउँपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष एवम् समाजसेवी अर्जुन प्रसाद खरेलले बताउनुभयो । विदेशमा श्रम र पसिना बेचेर कमाएको पैसा स्वदेशका दुःखी र पीडितहरुलाई सहयोग गर्ने थापा साक्षात भगवान भएको उहाँको भनाई छ । आफुले कसैले व्यक्तिगत रुपमा घडेरी किनेर घर बनाएको देखेको यो पहिलो पटक भएकाले आश्चर्य समेत लागेको उहाँले बताउनुभयो ।
घर निर्माण पश्चात सहयोगी थापा नेपालमै आएर जुनालाई घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । केही समय पश्चात आफु नेपाल आउन लागेको र सोही अवसरमा घर दिदीलाई हस्तान्तरण गर्ने थापाले बताउनुभयो ।
विगत १४ बर्ष यता हाल अमेरिकामा रोजगारीको शिलशिलामा कार्यरत रहदै आउनुभएका थापाले आफुले कमाएको पैसा बडिगाड गाउँपालिका लगायत देशका अन्य ठाउँमा पनि विभिन्न दिन दुखी र असहायहरुलाई सहयोग गर्दै आउनुभएको छ । आर्थिक अभावमा उपचार नपाएकाहरु, विद्यालय जान नसकेका बालबालिकाहरु र गरिबीका कारण बिहान बेलुका समेत खान गाह्रो हुनेहरुलाई उहाँले थुप्रै सहयोग गरेर धेरैको उद्धार तथा परोपकारी कार्य गर्नुभएको पत्रकार दिपक नेपालीले बताउनुभयो ।