सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका वडा नं ३ वडागाउँ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले सुपथ मुल्य पसल र कोसेली घर सञ्चालनमा ल्याएको छ ।
सहकारीले उपभोक्ताहरुलाई ठगिनबाट बचाउन र सस्तो मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । त्यस्तै कृषकहरुको उत्पादित कृषि सामाग्री र अन्य स्थानीय स्तरमा निर्मित विभिन्न वस्तु तथा सेवाको विक्री सुनिश्चितता गर्ने उद्धेश्यले कोसेली घर समेत सञ्चालनमा ल्याईएको छ ।
उक्त कोसेली घरबाट विनिमय सेवा समेत उपलब्ध हुनेछ । न्यूनतम मूल्यमा नागरिकलाई दैनिक उपभोग्य सामान तथा अन्य वस्तुहरु उपलब्ध गराउन अब निरन्तर सूपथ मूल्य पसल सञ्चालन गरिने सहकारीका प्रबन्धक विवेक पेमीले बताए । उनका अनुसार अब स्थानीयले कुनै पनि वस्तु सहकारीमा विक्री गर्न पाउने र त्यसबापत सहकारीबाट आफुलाई आवश्यक परेको सामान लिएर जान सक्नेछन् ।
खास गरी तरकारी, फलफूल, हस्तनिर्मित उत्पादनको संकलन र बजारीकरण, किसानलाई आवश्यक दैनिक उपभोग्य सामाग्रीहरुको सहज उपलब्धता, उत्पादन र उत्पादकत्वमा वृद्धि जस्ता कुराहरुलाई प्राथमिकतामा राखी यो कार्यक्रम संचालनमा ल्याइएको उनले बताए ।
सोमबार मुसिकोट वडा नं ३ का वडाध्यक्ष शकंर बहादुर रायमाझीले उक्त कोसेली घर र सुपथ मूल्यको समुद्घाटन गरेका हुन् । सहकारीले सुपथ मुल्य पसलबाट २५ देखि ३० प्रतिशत छुटमा सामानहरु उपलब्ध गराउने भएको छ । दशै तिहार जस्ता चाडपर्वलाई लक्षित गरि रंगरोगनका सामाग्रीहरुमा २५ देखि ३० छुट एवम अन्य खाद्य सामाग्रीहरु थोक मुल्यमा उपलब्ध गराइएको सहकारीले बताएको छ ।
सहकारीले कृषि सामाग्री कम्पनीसगं सहकार्य गरेको छ भने खाद्य सामाग्रीहरु भैरहवाबाटै ल्याउने गरेको छ ।
मुसिकोट नगरपालिकाले निर्माण गरेको कोशेली घरमा सहकारीले पसल सञ्चालनमा ल्याएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा १० लाख रुपैयाँ लागत र १ लाख श्रमदान गरी ११ लाख रुपैयाँमा उक्त भवन निर्माण गरिएको थियो ।
कोशेली घर सञ्चालनका लागि सहकारीलाई घरेलु तथा सामाना उद्योग कार्यालयले १ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । सहकारीले झण्डै ५ लाख बराबरको संरचना समेत निर्माण गरेको छ ।
बजारीकरणको समस्या
सहकारीले कृषकहरुसगंबाट खरिद गर्ने सामाग्रीहरुको बजारका लागि भने समस्या हुने देखिएको प्रबन्धक पेमीले बताए । केही वस्तु तथा सेवाहरु लामो समयसम्म पसलमै राख्न सकिने भएपनि विशेषगरी कृषि उपजहरुको विक्रीका लागि भने समस्या देखिएको उनको भनाई छ ।
किसानको कृषि उपजको सामाग्रीको आफुहरुले खरिद गरेपनि त्यसलाई बजारसम्म पुर्याउन भने समस्या रहेको उनले बताए । सड्ने र गल्ने वस्तुहरुमा न्यूनतम सेवा मूल्य तोकेर नगरपालिकाले क्षतिपूर्तिको व्यवस्था गर्न सकेमा यो कार्यक्रम सफल हुने उनको भनाई छ ।
कृषि सामाग्री भण्डारण गर्नका लागि कोल्ड स्टोर नभएको र छिटो कुहिने सामाग्रीहरुका लागि भने समस्या भएपनि बजारीकरणका लागि सहकारीले विभिन्न क्षेत्रसगं समन्वय गरीरहेको उनको भनाई छ ।