बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशिल

बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशिल

Badigad Online
3 Min Read

बागलुङ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छ मध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको हो ।

गृह मन्त्रालयले मतदान स्थलको सुरक्षा संवेदनशिलताको हिसावले गरिएको बर्गिकरण बिषय सार्वजनिक नगर्न निर्देशन दिएकाले कुन कुन मतदान स्थल संवेदनशिल छन भन्ने बिषयमा सार्वजनिक नगरिएको ढकालले बताए ।

अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको ढकालले बताए । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । जिल्लामा कुल एक सय छ मतदानस्थल छन् । जसमा दुई सय ३१ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

स्थानीय तहको निवर्जाचन पश्चात मतदाताको सुविधालाई ध्यानमा राखेर बागलुङमा तीन मतदान स्थल परिवर्तन र तीन मतदानस्थल थप गरिएको हो ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मतदातालाई भएको असुविधालाई हटाउने उद्देश्यले मतदान स्थल थप तथा स्तान्ततरण गर्ने सहमति भएपछि परिवर्तन र थप भएको शर्माले बताए । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–६, ढोरपाटन नगरपालिका–२ र गलकोट नगरपालिका–१० मा एक/एक वटा मतदान स्थल थप गरिएको छ ।

सबै मतदातालाई अपाएक परेको बागलुङ नगरपालिका–३ बौद्ध बिहारबाट, कालिका कन्या मावि, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल मावि र बडिगाड गाउँपालिका–८ सिद्धबारी प्राविबाट भृकुटी माविमा मतदान स्थल स्थानान्तरणको निर्णय गरेको निर्वाचन कार्यालयका सुचना अधिकारी शर्माले जानकारी दिए ।

भौगोलिक रुपमा टाढा, सबै मतदातालाई बराबर दुरी पर्ने, मतदान स्थल साँधरा जस्ता समस्या भएको ठाउँमा राजनीतिक सहमतिको आधारमा स्थानन्तरण र थप गरिएको हो । अन्य स्थानमा पनि मतदान स्थल हेरफेर र थप गर्ने प्रास्ताव राजनीतिक दलले गरे पनि आम सहमति नहुँदा प्रस्तावलाई यथावत राखिएको छ ।

स्थानीय तह निर्वाचन पछि जिल्लामा दुई हजार आठ सय नयाँ मतदाता थपिएका छन । नयाँ थप भएका मतदाताले आगमी मंसिरमा हुने संघ र प्रदेश निर्वाचनमा मत राख्न पाउने छन् ।

स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार ६२४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार २९७ जना मतदाता पुगे । जसमध्ये एक लाख ९ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता रहेका छन् ।

असार १ गते देखि साउनको १९ गते सम्म जिल्ला प्रशासन, कार्यालय बागलुङ, इलाका प्रशासन कार्यालय बुर्तिवाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो ।

अन्तिम मतादाता नामावलीका लागि दाबी बिरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुगेको निर्वाचन कार्यालयको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित