सागर भण्डारी,गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको भवन निर्माणसगै प्लाष्टरको काम सम्पन्न भएको छ भने झ्याल ढोकाको काम हुँदै छ ।
मुसिकोट नगरपालिका-७ वामीटक्सारमा भवन निर्माण कार्य भइरहेको छ । नगरपालिका भवनको भित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर ब्लक लगाउने, गेट निर्माण, लिफ्ट, वाईरिङ लगायतका काम बाँकी छ । त्यस्तै क्यान्टिनको जग खन्ने काम भईरहेको नगरपालिकाले जनाएको छ ।
स्थानीय तह स्थापनाको पहिलो कार्यकालमा शिलन्यास भएको भवनको निर्माण कार्य अब अन्तिम चरणमा पुग्न लागेको मुसिकोट नगरपालिकाका योजना शाखा प्रमुख विष्णु खरेलले बताए ।
अहिले अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको कामले तिब्रता पाएको र हालसम्म अधिकांश काम सम्पन्न भइसकेको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताए । निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले आगामी आर्थिक वर्षमा नयाँ प्रशाशकीय भवनबाट सेवा थालनी गर्ने गरी तैयारी भईरहेको जानकारी दिए ।
सघींय समपुरक बजेट अन्तर्गत बन्दै गरेको नगरपालिकाको प्रशाशकीय भवन निर्माणका लागि २०७७ साल पुष १७ गते श्रेष्ठ महादेव खिम्ती जे.भि तम्घाससगं ८ करोड ४८ लाख ११ हजार ४ सय २० रुपैयाँमा २०७९ पौष १७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
तर आगामी पौष १७ गतेभित्र सम्पूर्ण निर्माणको काम नसकिने भएकाले म्याद थपको प्रक्रियामा निर्माण कम्पनी रहेको छ । कम्पनीले अहिलेसम्म ६ करोड १५ लाख ३८ हजार १ सय १७ रुपैयाँ भुक्तानी लगिसकेको छ ।
निर्माण व्यवसायी हरि कुमार श्रेष्ठले आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गरिसक्ने बताए । २ पटकको कोरोना महामारी, मुल्यवृद्धि, निर्वाचन लगायतका समस्या झेलेर पनि दु्रत गतिमा निर्माणको काम भईरहेको भन्दै यी समस्याका बाबजुद पनि ९० प्रतिशत काम सकिएको जानकारी दिए । रातदिन काम भईरहेकाले जटिसक्दो निर्माण कार्य सम्पन्न गर्ने उनको भनाई छ ।
१८ रोपनी क्षेत्रफलमा मुसिकोट नगरपालिकाको मुख्य पूर्वाधारका योजना अन्तर्गत निर्माण हुँदै गरेको प्रशाशकीय भवन जिल्लामै नमुना प्रशाशकीय भवन रहेको छ । प्रशाशकीय भवन लिफ्ट सहितको ४ तले अपागंमैत्री बन्ने बताईएको छ ।
भवनको सुरक्षाका लागि ३ तहको कम्पाउण्ड वाल समेत लगाईएको छ । हाल मुसिकोट नगरपालिकाको आफ्नै भवन नहुदाँ वामीटक्सार टारमा रहेको एक निजी भवनमा भाडामा सञ्चालनमा रहेको छ ।