काठमाडौं । हालै भारतले जारी गरेको राजनीतिक नक्शामा कालापानी, लिपुलेक लगायतका भु–भाग भारतमा देखाइएपछि नेपालमा विरोध सुरु भएको छ । आज भन्दा ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि अब औपचारिक रूपमै भारतमा पारिएको हो ।
जनमानसमा पटकपटक उठ्ने गरेको यो विषय सरकारी तहबाट भने जोडदार रुपमा उठ्न सकेको छैन । अहिले सरकारले भारतीय नक्शामाथि विरोध जनाउँदै नेपालले यो नक्शा नमान्ने बताएको छ ।
विभिन्न राजनीतिक दलहरु यो विषयमा एक ठाउँमा आएका छन् । मधेशवादी दलहरुले अहिलेसम्म कुनै पनि प्रतिकृया जनाएका छैनन् । विशेष गरेर राजपाले भारतीय यस कदमलाई लिएर औपचारिक रुपमा कुनै प्रतिकृया दिएको छैन ।
यस्तै लामो समय स्वतन्त्र मधेश माग्दै हिडेका सिके राउतको जनमत पार्टीले पनि कुनै आधिकारीक जानकारी दिएको छैन । यस विववादबारे पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पुर्व राजा महेन्द्र यसको जिम्मेवार भएको बताउनु भएको छ ।
लिम्पियाधुराबाट निस्कने महाकाली नदी नेपालको पश्चिमी सीमा भएको सुगौलीसन्धीबाट स्थापित ध्रुवसत्य हो!त्यसभन्दा पूर्वका कालापानी,लिपूलेक क्षेत्र स्वत: नेपालका अविभाज्य भूभाग हुन्!परन्तु आफुलाई बढी ‘राष्ट्रवादी’ठान्ने राजा महेन्द्रले त्यहाँ भारतीय सैनिक राख्नदिएदेखि उठेको विवाद हल ..२ pic.twitter.com/ioAzo0wZjU
— Baburam Bhattarai (@brb1954) November 6, 2019
उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताउनु भएको हो । उहाँले भन्नुभएको छ, ‘ लिम्पियाधुराबाट निस्कने महाकाली नदी नेपालको पश्चिमी सीमा भएको सुगौलीसन्धीबाट स्थापित ध्रुवसत्य हो !
त्यसभन्दा पूर्वका कालापानी, लिपूलेक क्षेत्र स्वतः नेपालका अविभाज्य भूभाग हुन् ! परन्तु आफुलाई बढी ‘राष्ट्रवादी’ठान्ने राजा महेन्द्रले त्यहाँ भारतीय सैनिक राख्नदिएदेखि उठेको विवाद हल गर्न बनेको संयन्त्रले काम पूरा नगर्दै भारत सरकारले एकपक्षीय रूपमा सो क्षेत्र समेटेर नक्सा जारी गर्नु कुनै पनि स्वाभिमानी नेपालीलाई सह्य हुनसक्दैन !
ठूलो आकारको छिमेकी देश हुनाले उसले नै यस मामिलामा बढी उदारता देखाउनुपर्ने हो ! वार्ताद्वारा सत्यतथ्यका आधारमा शीघ्र यो समस्या हल होस् !’
यो सँगै उहाँले सरकारले जनाएको विरोधमा केही त्रुटि देखिएको उल्लेख गर्नुभएको छ । एक अर्को ट्वीटमा उहाँले भन्नुभएको छ, ‘चरम‘राष्ट्रवाद’को डंका पिटेर२–३पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात(वा आँत ?) किन काँपेको होला ? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !’