बडिगाडमा सरकारी सम्पत्तिको चरम दुरुपयोग : भयानक मोटरसाइकल दुर्घटनामा दोषी को ?

बडिगाडमा सरकारी सम्पत्तिको चरम दुरुपयोग : भयानक मोटरसाइकल दुर्घटनामा दोषी को ?

Badigad Online
5 Min Read

विमल खड्का, काठमाडौं । बडिगाड गाउँपालिकाका सव-इन्जिनियर मोहन रमौली मंगलबार बिहान बडिगाड गाउँपालिका -३ सिसाखानीको योजना मूल्यांकन गर्न पुगे ।

उनी भलामी, सिसाखानी, लब्दीखोला, किटेनी मोटरबाटो बर्खाको समयमा सफा गरेका हुनाले त्यसको भुक्तानीका लागि उपभोक्ता समितिसँग पुगेर आवश्यक डकुमेन्ट सहित गाउँपालिकामा बेलुकी ५ बजे फर्किए । बडिगाड गाउँपालिकाबाट दुरीको हिसाबले टाढा रहेको सिसाखानी पुगेर उनलाई फर्किन ८ घण्टा लाग्यो ।

साँझ ५ बजे बडिगाड गाउँपालिकाको कार्यालयमा आएका उनी स्थानीय होटल व्यवसायी महेन्द्र जिसीलाई लिएर फुलबारी एग्रो रिर्साेटमा जाँदै थिए । फुलबारी रिर्साेट हिँडेका दुई जना खाल बजारसम्म पुगेर फर्किने योजना बनाए । उनीहरु रिर्साेटबाट अघि बढे । रिर्साेटबाट केही मिटर पर पुगेका उनीहरु सवार ध१ब६२३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्यो ।

दुर्घटनामा मोटरसाइकलपछि बसेका महेन्द्र उछिटिएर पर पुगे । हेल्मेट भएकाे कारण चालकलाई कम चोट लाग्यो । भने, मोटरसाइकलको पछाडि बसेका जिसीको टाउकोमा गम्भीर चोट लाग्यो । उनलाई तत्काल सामान्य उपचारपछि पोखरा लगियो । पोखरा पुर्याइएका जिसीको बुधबार साँझ टाउकोको अप्रेशन गरियो ।

बरिष्ठ न्यूराे सर्जन बालगोपाल कर्मचार्यको नेतृत्वको टिमले सफलतापूर्वक टाउकोको अप्रेशन गर्यो । टाउकोको अप्रेशन गर्ने बेला अस्पताल पुगेका बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले दुई तीन दिनपछि डिस्चार्ज गर्ने कुरा रहेकाे जानकारी दिए ।

बुधबार साँझ चेतनारायणले भने- ‘बिरामीको अप्रेशन सफल भयो, हामी अहिले बागलुङ बजार आइपुगेका छौं, केही दिनमा बिरामीको डिस्चार्ज हुन्छ, अवस्था विस्तारै सामान्य हुँदैछ ।’

यो समाचार तयार (बिहीबार राति १० बजे ) सम्म गम्भीर घाइते भएका जिसीको अवस्था अत्यन्तै नाजुक रहेको छ । पोखरा मनिपाल शिक्षण अस्पतालका बरिष्ठ न्यूरो सर्जन कर्माचार्यका अनुसार बिहीबार (आज) भेन्टिलेटरको सहायतामा राखिएको र शुक्रबार परिवारका अन्य सदस्य आएपछि बिरामीको बारेमा थप बोल्ने जानकारी दिए ।

कमजोरी कस्को ?

दुर्घटना हुनु भवित्व्य कुरा हो, यो जोकोही जुन सकुै बेला पनि हुन सक्छ । तर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुने कर्मचारीलाई सवारी साधानको जिम्मा दिनु कत्तिका अनुचित होला ? सरकारी कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भएपनि बेलुकी ६ बजेपछि मोटरसाइकल लिएर हिँड्नुले बाइक कुन प्रयोजनका लागि प्रयोग गरिएको थियो भन्ने विषय उठेको छ ।

यस बारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले न्यूज खरीसँग भने- बडिगाड गाउँपालिका भौगोलिक हिसाबले विकट भएकाले फिल्डमा हिँड्ने इन्जिनियरले मोटरसाइकल प्रयोग गरेको हुन् ।

‘साउनदेखि लाइसेन्स अनिवार्य गरिएको थियो,’ उनले भने, ‘गाउँपालिकाको भौगोलिक अवस्था बिकट भएकाले मोटरसाइकल नभए कर्मचारी फिल्डमा जान मान्दैनन् ।’

लाइसेन्स नभएका कर्मचारीलाई मोटरसाइकल किन ? भन्ने प्रश्नमा उनले भने-‘मोटरसाइक नभए फिल्ड जाँदैनौं भनेपछि बेलुकी प्रशासनमा चावी बुझाउने शर्तमा कर्मचारी फिल्डमा माेटरसाइकल लिएर जाँदै आएका थिए ।’

दुर्भाग्य चालक रमौलीले फिल्डबाट आएर पनि अफिस समयमा प्रशासनलाई मोटरसाइकलको चावी नबुझाउँदा दुर्घटना हुन पुगेकाे प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ ।

तर, बिहीबार साँझ गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले कार्यालयमा राखेको मोटरसाइकल नसोधी कर्मचारीले आफैं लगेर गएको न्यूज खरीसँग बताइन् । तर अहिले उनले लेखेको स्ट्याटस डिलेट भइसकेको छ । ‘जसले गल्ति गरेको छ उनै कारबाहीको भागिदार हुन्छ ‘ उनले भनिन् ।

ट्राफिक प्रहरी (असई)जीतबहादुर मुखियाका अनुसार दुर्घटना भएको बाइक नियन्त्रणमा लिई ग्वालिचौर प्रहरी चाकीमा राखिएको छ । दुर्घटनापछि मोटरसाइकलमा सवार चालकको विवरण हेर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएको मुखियाको भनाइ छ ।

के हुन्छ कारबाही ?

सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको व्यक्तिले सवारी चलाउँदा सवारी साधान ऐन २०४९ (संशोधन) अनुसार कारबाही हुन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १६१ को (दफा) १ अनुसार सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिका कारण दुर्घटना भएर कुनै व्यक्तिको मृत्यु भएमा कसुरको मात्रा अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

साथै विरामीको २१ दिनभित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र तीस हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

साथै चालक अनुमतिपत्र नभएको खण्डमा उपदफा १ बमोजिम कसुर गरेको व्यक्तिलाई थप दुई वर्ष र दुई हजार जरिवाना लाग्नेछ । साथै जन्मकैद हुने भए यस्तो थप जरिवाना लाग्नेछैन ।

अनुमति दिने अधिकृतलाई पनि हुन सक्छ कारबाही

सवारी तथा यातायात व्यवस्था ऐन २०४९को सजाय सम्बन्धी व्यवस्था १६ को १६१ दण्ड सजायको दफा ५ अनुसार कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यत्तिलाई सवारी चलाउन दिएर दुर्घटना भई मानवीय क्षति भएमा चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुने व्यवस्था रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

‘सवारी अनुमति पत्र नभएका व्यक्तिले सवारी साधन चलाउनु र चलाउन अनुमति दिनु अपराध हो,’उनले भने, ‘यस्तो पाइएमा उनीहरुलाई सवारी यातायात तथा व्यवस्था ऐन २०४९ (संशोधन) अनुसार कारबाही हुन्छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित