बडिगाडका स्थानीयको विद्यालय प्रति माया, भानु माविको हिरक महोत्सवमा २ करोड माथि सहयोग

बडिगाडका स्थानीयको विद्यालय प्रति माया, भानु माविको हिरक महोत्सवमा २ करोड माथि सहयोग

Badigad Online
4 Min Read

सागर भण्डारी, गुल्मी । बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ ग्वालीचौर टारी स्थित भानु माध्यमिक विद्यालयको हीरक महोत्सवमा स्थानीयको सहयोगको लर्को लागेको छ । विद्यालयको शैक्षिक स्तर वृद्धि गर्ने लक्ष्य राखेर थालिएको सहयोग सकंलन अभियानमा देश विदेशबाट स्वतस्फूर्त रुपमा सहयोगीहरु जोडिदै गएका छन् ।

विद्यालयले आफ्नो स्थापनाको ६० वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव समारोहको अवसर पारेर विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने, निशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन गर्ने, आवासीय विद्यालय सहित विद्यालय बस सञ्चालन गर्ने उद्धेश्य राखेर विभिन्न दाताहरुबाट सहयोग सकंलन गरिरहेको छ ।

“विद्यालयले राखेको उद्धेश्य प्रति प्रभावित भएर देश विदेशबाट सहयोगीहरु जोडिनुभएको छ, विद्यालयका प्रधानाध्यापक केशव राज खरेलले भन्नुभयो अहिलेसम्म २ करोड २० लाख रुपैयाँ सहयोग सकंलन भईसकेको छ । अझै पनि थपिनेक्रम छ ।” माघ २२ गतेदेखि सुरु भएको हीरक महोत्सव अन्तर्गत २ दिन विद्यालयका आन्तरिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

गाउँमा प्राविधिक शिक्षा सुरु हुन्छ भन्दा खुसी छौँ

बडिगाड गाउँपालिका वडा नं ५ टारी घर भई हाल रुपन्देहीमा बस्नुहुने हिमलाल घिमिरेलाई हीरक महोत्सवको अवसरमा विद्यालयले प्राविधिक शिक्षा लगायतका विभिन्न उद्धेश्य राखेर सहयोग सकंलन गरेको भन्दा खुसी लाग्यो । “हामीले निकै दुखका बीच पढ्यौँ, त्यतिबेला किताब कापी किन्ने पैसा नभएकै कारण पढाई पनि छाड्नुपथ्र्यो । अहिले हाम्रै गाउँको विद्यालयले यति वृहत उद्धेश्य राखेको देखेर प्रभावित भएर सहयोग गरे । घिमिरेले भन्नुभयो । उहाँले यही महोत्सवलाई ४ लाख ७४ हजार ४ सय ७४ रुपैयाँ सहयोग गर्नुभएको छ ।”

त्यस्तै चन्दादाता प्रेम नारायण भट्टराईले अहिलेको समय अनुसारको शिक्षा गाउँकै विद्यालयमा हुन सकेमा यहाँका गरिब र विपन्न विद्यार्थीहरुले पनि स्तरीय शिक्षा लिन सक्छन् भन्ने लागेर आफुले सहयोग गरेको बताउनुभयो । समाज सुधारको प्रमुख आधार नै शिक्षा रहेको भन्दै उहाँले शिक्षामा गरेको सहयोगले थुप्रैको उद्धार हुने धारणा राख्नुभयो । उहाँले पनि यस महोत्सवमा ४ लाख ५१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

विद्यालयको शैक्षिक उन्नयनका लागि आयोजित हीरक महोत्सवमा विभिन्न सहयोगीहरुले सहयोग गरेका छन् । जसमध्ये अहिलेसम्म सबैभन्दा धेरै बडिगाड ५ ताल घर भई हाल अमेरीकामा रहनुहुने महलाल तिवारीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै बडिगाड ५ दाँगचौर निवासी राम प्रसाद घिमिरेले १० लाख १ हजार १ सय ११, दिपक भट्टराई तिलोत्तमा नगरपालिका रुपन्देहीबाट ४ लाख ५१ हजार १ सय ११, एकनारायण अर्याल धुब्र मुसिकोट नपा १ गुल्मीबाट ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, भोजराज गौतम बडिगाड ५ ग्वालिचौरबाट २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ, केशव खरेल बडिगाड ५ खौलारबाट २ लाख ५६ हजार ६ सय ६६ रुपैयाँ, बालकुमार आचार्य बडिगाड ५ ग्वालिचौरबाट २ लाख ५५ हजार ५ सय ५५, अर्जुन प्रसाद खरेल बडिगाड ५ टारीबाट २ लाख ५१ हजार १ सय ११ र चन्द्रमणी भुषाल बडिगाड ५ बालुवाबाट २ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

यो बाहेक उक्त अभियानमा दर्जनौँ अन्य व्यक्तिहरुले पनि सहयोग गर्नुभएको छ । “मुख्य रुपमा ठुलो सहयोग गर्ने चन्दादाताहरु उहाँहरु नै हो, हीरक महोत्सव मूल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले भन्नुभयो, यस बाहेक अन्य थुप्रै दाताहरुले विद्यालयलाई सहयोग गर्नुभएको छ ।”

विद्यालयले राखेको उद्धेश्य बमोजिम अपेक्षा अनुसारको सहयोग प्राप्त हुँदा आफुहरु खुसी भएको उहाँको भनाई छ । खरेलले सम्पूर्ण चन्दादाताहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित