सागर भण्डारी,गुल्मी । बागलुङको पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भानु माध्यमिक विद्यालय बडिगाड गाउँपालिका -५ बागलुङले आफ्नो स्थापनाको ६० औँ बर्षगाँठको अवसरमा आयोजना गरेको हिरक महोत्सवको औपचारिक उद्घाटन गरिएको छ ।
महोत्सवको प्रमुख अतिथि बागलुङ क्षेत्र नं २ का सांसद एवम् पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद पौडेलले भानु माध्यमिक विद्यालय यस क्षेत्रकै पुरानो एवम् ऐतिहासिक विद्यालय रहेको भन्दै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाई दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो ।
फरक प्रसगंमा उहाँले विद्यालय शिक्षा सुधारका लागि राज्य नै गम्भीर बन्नुपर्ने भन्दै स्थानीय शिक्षक, अभिभावक, स्थानीय तह र अन्य जिम्मेवार सम्पूर्ण सयंत्रहरु चनाखो बन्नुपर्ने बताउनुभयो । पूर्वमन्त्री पौडेलले आफु शिक्षा मन्त्री हुँदा ८ वटा शिक्षा ऐन बनेको भन्दै शिक्षक महासघंसगं भएका सम्झौताहरु कार्यान्वयनको चरणमा रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बागलुङ क्षेत्र नं २ प्रदेश सभा सदस्य देवी भट्टचन, क्षेत्र नं २ प्रदेश सभा ख का प्रदेश सांसद जित बहादुर शेरचन, लोकान्तर डटकमका प्रधानसम्पादक एवम् वरिष्ठ पत्रकार विमल गौतम, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
हीरक महोत्सव समुद्घाटन समारोहको अवसर पारेर विद्यालयले विभिन्न चन्दादाता, जग्गादाता, पूर्व विद्यार्थी, पूर्व शिक्षक लगायतलाई सम्मान गरेको छ । विद्यालयमा प्राविधिक धार तर्फको अध्यापन सुरु गर्ने, विद्यालय बस सञ्चालन गर्ने र आवासीय विद्यालय सहित निशुल्क शिक्षालाई पूणर् कार्यान्वयन गर्ने उद्धेश्य राखेर हीरक महोत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक एवम् सामाजिक व्यक्तिहरुसगं सहयोग सकंलन अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियान मार्फत १ लाख ५६ हजार भन्दा माथि सहयोग गर्ने २४ जना चन्दादातालाई उद्घाटन समारोहको अवसरमा बाजागाजा, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न नृत्य तथा गीत समेत प्रस्तुत गरेका थिए भने विद्यालयमा लामो समयसम्म अध्यापन गराई हाल विभिन्न ठाउँमा रहनुभएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव खरेलको स्वागत मन्तव्य र विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्टराई र टिका पाईजाको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यालयले हीरक महोत्सवको अवसरमा आयोजना गरेका कार्यक्रमहरु यही माघ २२ गतेदेखि सुरु गरेको थियो । २२ गतेदेखि २४ गतेसम्म विद्यालयका आन्तरिक कार्यक्रम र २४ र २५ गते अन्तर विद्यालय स्तरीय कार्यक्रमहरु सम्पन्न भएका छन् ।
२८ गतेसम्म चल्ने महोत्सवको अब २ दिन वरिष्ठ चन्दादाता सम्मान, पूर्व विद्यार्थी, शिक्षक सम्मान लगायतका कार्यक्रमहरु रहेको विद्यालयले जनाएको छ । भोलि शुक्रवार गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापाको प्रमुख आतिथ्यता रहने बताईएको छ ।
विद्यालयको वृहतर विकास र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा अहिलेसम्म विभिन्न व्यक्तिबाट झण्डै २ करोड २० लाख रुपैयाँ सहयोग सकंलन भएको छ ।