सागर भण्डारी, गुल्मी । बागलुङ पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भानु माध्यमिक विद्यालय बडिगाड गाउँपालिका -५ बागलुङले आफ्नो स्थापनाको ६० औँ बर्षगाँठको अवसरमा आयोजना गरेको हिरक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
महोत्सवको बिहिवार प्रमुख अतिथि बागलुङ क्षेत्र नं २ का सांसद एवम् पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । समापन समारोहलार्ई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् गण्डकी प्रदेश उपसभामुख बिना कुमारी थापाले विद्यालयको गुणस्तर अभिवृध्दिका लागि शिक्षक विध्यार्थी अभिभावक सबैको साथ महत्वपूणर् रहेको बताउनुभयो । उहाँले विध्यालयको स्तरवृद्दिका लागि आफु सदैव तत्पर रहने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
कार्यक्रममा हीरक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक केशव खरेलले स्थापना काल देखि हालसम्म विद्यालयलाई यो स्थानसम्म ल्याईपुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुहुने अगुवा एवम् महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयको ईतिहास र वर्तमानको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन बमोजिम विद्यालयमा हाल ६३२ जना विद्यार्थी र ३० जना शिक्षक तथा कर्मचारी रहेका छन् । उहाँले आर्थिक वर्ष २०७८/०७९ को प्रगती प्रतिवेदन सहित भावी योजना समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक सांसद दिलमाया पौवी, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
हीरक महोत्सवको अवसर पारेर विद्यालयले विभिन्न चन्दादाता, जग्गादाता, पूर्व विद्यार्थी, पूर्व शिक्षक लगायतलाई सम्मान गरेको छ । विद्यालयमा प्राविधिक धार तर्फको अध्यापन सुरु गर्ने, विद्यालय बस सञ्चालन गर्ने र आवासीय विद्यालय सहित निशुल्क शिक्षालाई पूणर् कार्यान्वयन गर्ने उद्धेश्य राखेर हीरक महोत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक एवम् सामाजिक व्यक्तिहरुसगं सहयोग सकंलन अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियान मार्फत सहयोग गर्ने चन्दादातालाई बाजागाजा, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न नृत्य तथा गीत समेत प्रस्तुत गरेका थिए भने विद्यालयमा लामो समयसम्म अध्यापन गराई हाल विभिन्न ठाउँमा रहनुभएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रम विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्टराई र वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यालयले हीरक महोत्सवको अवसरमा आयोजना गरेका कार्यक्रमहरु यही माघ २२ गतेदेखि सुरु गरेको थियो । २२ गतेदेखि २४ गतेसम्म विद्यालयका आन्तरिक कार्यक्रम र २४ र २५ गते अन्तर विद्यालय स्तरीय कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यस्तै २६,२७ र २८ गते विद्यालयले औपचारिक कार्यक्रम गरेको थियो ।
विद्यालयको वृहतर विकास र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा अहिलेसम्म विभिन्न व्यक्तिबाट झण्डै २ करोड २० लाख रुपैयाँ सहयोग सकंलन भएको छ । सहयोग सकंलन अभियान विद्यालयको हीरक स्मारिका प्रकाशन नहुञ्जेल जारी रहने भएकाले सम्पूर्ण महानुभावहरुलाई सहयोगका लागि विद्यालयले आग्रह समेत गरेको छ ।