मुसिकोटमा गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु

मुसिकोटमा गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु

Badigad Online
3 Min Read

सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा पहिलो पटक निःशुल्क ग्रामीण अल्टा्रसाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन नगरपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो ।

मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ स्थित वामीटक्सार स्वास्थ्य चौकीबाट सेवा सुभारम्भको नगरप्रमुख जीवन खरेलले मगंलबार उद्घाटन गर्नुभएको हो । ग्रामीण अल्ट्रासाउण्ड सेवाको सुभारम्भ गर्दै नगरप्रमुख खरेलले स्वास्थ्य क्षेत्रको पनि सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्थाहरुमा सेवा सुविधा बढाउँदै लगिएको बताउनुभयो । गर्भ जाँच गर्न महिलाहरु टाढा-टाढा, सहरबजार धाउनुपर्ने बाध्यतालाई मध्यनजर राख्दै नगरपालिकाले वामीटक्सारबाट यो सेवा सुभारम्भ गरेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको झण्डै १० लाख लागतमा उक्त अल्ट्रासाउण्ड मेसिन प्राप्त भएको हो । स्वास्थ्यचौकीले तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो । नगरपालिकाका उपप्रमुख गगां श्रेष्ठले उक्त सेवा लिन जिल्ला वा केन्द्रका अस्पताल जानुपर्ने यसअगाडीको बाध्यता हटेको भन्दै गर्भवती महिलाहरुलाई निशुल्क रुपमा स्वास्थ्य चौकीमा आएर सेवा लिन आग्रह गर्नुभयो ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे गर्न आवश्यक रहेकाले उक्त सेवा थालिएको बताउनुभयो । गर्भवतीलाई निःशुल्क रुपमा भिडियो एक्सरे सेवा प्रदान गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम थालिएको उहाँको भनाई छ । गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा नियमित रुपमा सञ्चालन हुने भएकाले ८ पटक गर्भ जाँच गराउनुका साथै ८ देखि १२ हप्ता, १८ देखि २२ हप्ता र ३६ देखि ३८ हप्ता भित्रमा अनिवार्य भिडियो एक्सरे गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
नगरपालिकाका जनस्वास्थ्य निरिक्षक पुष्कर गौतमले वडामा मेशिन लगेर आवश्यकता अनुसार घुम्ती रुपमा गर्भवतीको स्वास्थ्य जाँच गरिने समेत बताउनुभयो । एक महिनाको फरकमा हरेक वडामा पुगेर सेवा प्रवाह गर्ने योजना रहेको र आगामी आर्थिक वर्षबाट उक्त कार्यपनि थालिने उहाँले बताउनुभयो ।

नगरपालिकाले गर्भवती महिलालाई प्रयोगशालाको पनि सुविधा दिएको छ । वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्य चौकीबाट उक्त सेवा प्रवाह भएको नगरपालिकाको भनाई छ । त्यस्तै केही दिन भित्रै कुर्घा स्वास्थ्य चौकीबाट पनि प्रयोगशालाको सेवा सुरु गर्ने तैयारी रहेको छ । नगरपालिकाले गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आईरहेको छ ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष एवम् वामीटक्सार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, वडा नं ७ का पूर्व वडाध्यक्ष प्रकाश काफ्ले, वडा नं ८ का पूर्व वडाध्यक्ष नारायण सापकोटा, कार्यपालिका सदस्य अमृता श्रेष्ठ, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्मा, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका उपाध्यक्ष लक्ष्मण फुल्लेल लगायत जनप्रतिनिधि, स्थानीय सघंसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन वामीटक्सार स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य गोपिकृष्ण खरेलले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित