सागर भण्डारी, खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँकी लिलावती खत्रीका श्रीमानले कान्छी विहे गरे । घरमा कान्छी बिहे गरेपश्चात उनी श्रीमान सगैं परिवारको हेलामा परिन । दुई सन्तानकी आमा उनलाई विस्तारै श्रीमानले साथ दिन छाडे । उनी बेसहारा नै बनिन् । श्रीमानले छाडेपछि एक्लो जीवन दुई सन्तानलाई निमेक गरेर पालनपोषण गर्दै आएकी थिईन् ।
जेनतेन माईतीले दिएको सम्पतिमा जिविकोपार्जन गर्दै आईरहेकी उनलाई सहारा दिने कोही थिएन । घाम पानी समेत राम्रोसगं नछेक्ने सानो झुपडीमा कष्टकर जीवन बिताईरहेकी लिलावतीलाई घर फेर्ने त परैको कुरा घरमा छानो लगाउन समेत आकाशको फल आँखा तरी मर भनेजस्तै भएको थियो । उनी बर्खामा कयौँ रात अनिद्रा नै बिताएको बताउँछिन् ।
तर लिलावती अहिले खुसी छिन् । उनको बर्षौँदेखिको खुसी फर्किएको छ । उनी अब न घामसगं डराउनुपर्नेछ न बर्षासगं । लिलावतीलाई आफ्नै अगाडी खडिएको नयाँ घर देख्दा विश्वास गर्नै मुस्किल भईरहेको छ । उनको बर्षौँदेखिको खुसी समाजसेवी लिल बहादुर थापाले फर्काईदिएका हुन् । सोही ठाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा कार्यरत थापाले आफु नेपाल आएको समयमा लिलावतीको अवस्थाको बारेमा थाहा पाए । उनको दयनीय अवस्था देखेपछि घर बनाउने प्रतिबद्धता व्यक्त गरेका थापाले व्यक्तिगत खर्चमा झण्डै ७ लाख ५० हजार लागतमा शौचालय र भान्सा सहिते दुई कोठे भवन निर्माण गरिदिएका हुन् ।
उक्त भवनको आईतबार खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एक समारोहका विच उद्घाटन गरे । उक्त घर पाउँदा लिलावतीका आँखा खुसीका आँसुले भरिए । “मैले भगवान हुन्छन् भन्ने सुनेको थिएँ, साक्षात भगवान त बल्ल पो देखेँ उनले भनिन् -मेरो चित्कार सुनेर घर नै बनाईदिनुभयो म उहाँलाई भगवान भनौँ की भाई ?”
समाजसेवी थापाले आफु नेपाल गएको समयमा लिलावतीको अवस्था थाहापाएपछि घर बनाउने प्रण गरेको बताए । “श्रीमानले पनि छाडेको र छोरा समेत घरमा नआउने भन्ने थाहापाएपछि म उहाँलाई भेट्न गएको थिएँ, थापाले भने- आफुले प्रतिबद्धता गरेको कार्य गरेर घर हस्तान्तरण गर्न पाउँदा निकै खुसी छु ।”
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले लिल बहादुर थापा खजुराकै गौरव भएको बताए । उनले राष्ट्रले गर्नुपर्ने काम गरेको भन्दै आफ्नो पौरख नेपालको दिन दुखीहरुलाई सहयोग गरेर ऐतिहासिक काम गरेको बताए । “खजुरामा जन्मेको एउटा मान्छेले यस्तो मानवीय काम गर्यो, हामीले गर्व गर्नुपर्छ उनले भने- जसले आफ्ना लागि सम्पति जोड्ने प्रयत्न गरेन आफ्ना लागि भन्दा पनि यो समाजका लागि सोँच्यो हामीले उच्च सम्मान गर्नुपर्छ ।” थापा जस्ता राष्ट्रका असल सपूतहरुलाई गाउँपालिकाले नेपाल आएको समयमा भव्य सम्मान गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा घर निर्माणका लागि सहजीकरण गर्ने जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले लिल बहादुर थापाले गरेका सामाजिक कार्य र सहयोग बेलिविस्तार लगाएर नसकिने बताए । थापाले नेपालका विभिन्न ठाउँमा राहतसगैं अन्य सहयोग, उपचारमा सहयोग, घर निर्माण लगायतका कार्यहरुमा आफु पनि सहयात्री भएर काम गर्न पाउँदा गर्व लाग्ने धारणा राखे ।
घर हस्तान्तरण कार्यक्रममा समाजसेवी लिल बहादुर थापाको परिवारसगैं स्थानीय खजुराबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
व्यक्तिगत खर्चमा ३ वटा घर निर्माण
लिल बहादुर थापाले व्यक्तिगत खर्चमा ३ वटा घर निर्माण गरिदिएका छन् । यस अगाडी बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ की जुना दमाईलाई घर निर्माण गरि हस्तान्तरण गरेका थिए । त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ पौँदीअमराईका महले जिसीको घर समेत निर्माणको अन्तिम चरणमा रहेको छ ।
थापाले नेपालका अधिकाशं जिल्लाका गरिब, दुःखी, असहाय र आर्थिक अभावले उपचार गर्न नपाएकाहरुलाई सहयोग गर्दै आएका छन् । थापाले थुप्रैलाई पुर्नजन्म दिएका छन् ।