बडिगाड अनलाइन । तनहुँ स्थायी घर भई हाल वैदेशिक रोजगारी तथा विभिन्न शिलशिलामा विभिन्न देशमा रहेका व्यक्तिहरुले ब्लड क्यान्सर रोगबाट पीडित एक बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
लामो समय देखि ब्लड क्यान्सर भई हाल कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचाररत तनहुँको भिमाद नगरपालिका ९ भाटडाडाकी बिना छेत्रीको उपचारका लागि तनहुँ सेवा समाज युएईकी महिला संयोजक अनिता अधिकारीले सहयोग सकंलन अभियान सञ्चालन गर्नुभएको थियो ।
उक्त अभियान मार्फत विभिन्न समयमा गरी २ लाख ८० हजार ६ सय ६६ रुपैयाँ पीडितलाई हस्तान्तरण गरिसकिएको अभियान्ता अधिकारीले जानकारी दिनुभयो । केही दिन अगाडी मात्रै तनहुँ सेवा समाज युएई मार्पmत सकंलन भएको ५८ हजार २ रुपैयाँ सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो ।
पीडित बालिकाका बुबा गोपि क्षेत्री र आमा पवित्रा क्षेत्री शारिरिक रुपमा अशक्त छन् । उनीहरुले छोरीको उपचारका लागि सहयोगको याचना गरेका थिए । उनीहरुको सहयोगका लागि अधिकारीको पहलमा युएई, साउदी सहित खाडी मुलुकमा सकंलित रकम हस्तान्तरण गरिएको हो । समाजमा रहेका विभिन्न व्यक्तिहरुबाट उक्त रकम संकलन भएको हो । उक्त सहयोग रकम पीडितकी फुपु पुजा क्षेत्रीको नाममा पठाईएको अधिकारीले बताउनुभयो ।
अझै पनि सहयोग रकम सकंलन जारी रहेकाले मनकारी व्यक्तिहरुलाई अभियानमा जोडिएर सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि बुबाआमा नै शारिरिक अशक्त भएपछि उपचारमा निकै समस्या भएको उहाँको भनाई छ ।