गलकोट : बागलुङको गलकोट नगरपालिका गण्डकी प्रदेशको तेस्रो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिका बालमैत्री पालिका घोषणा भएको हो । नगरपालिकाका ११ वटै वडा बागलमैत्री वडा घोषणा भएका छन् ।
पालिकाका सबै वडा बालमैत्री वडा घोषणा भएपछि प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडाको प्रमुख आतिथ्यतामा आज गलकोट नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गलकोटलाई बालमैत्री नगर घोषणा गरिएको नगरपालिका कार्यालयले जनाएको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाका १० पालिकामध्ये गलकोट पहिलो बालमैत्री पालिका बनेको छ ।
नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि विसं २०७७ मङ्सिरदेखि ५१ सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार, अभिमुखीकरणलगायत काम सुरु गरेको थियो । पालिकाले तीन वर्र्षदेखि ११ वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि प्रत्येक वडामा एकजनाका दरले ११ जना सहजकर्ता र एक जना अधिकृत खटाएर काम गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
बालमैत्री नगर घोषणाका लागि शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायत ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समिति र प्रदेश सरकारबाट प्रमाणित भएपछि आज बालमैत्री नगरका रूपमा घोषणा गरिएको उहाँले बताउनुभयो ।
“नगरपालिकाले तीन वर्षदेखि अथक प्रयासपछि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचक पूरा गरेर पालिका बालमैत्री नगर घोषणा भएको छ”, नगरप्रमुख शर्मा गैरेले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधारलगायत विषयमा आवश्यक अङ्कभार प्राप्त गरेका छौँ ।”
“केही पुराना संरचना बालमैत्री छैनन्, सुधार गर्न सक्नेलाई बालमैत्री बनाइयो । नयाँ बन्ने संरचना बालमैत्री हुने गरी मात्रै नक्सा पास गर्ने, बालविवाह अन्त्यका लागि सेचतनामूलक कार्यक्रमलाई निरन्तरता दिने पाँच वर्षे रणनीतिक योजना नगरपालिकाले सञ्चालन गरेको थियो”, उहाँको भनाइ थियो ।
पालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि लगानी सम्मेलन, वडास्तरमा बाल सञ्जाल गठन, विद्यालय, अस्पाताल, वडा कार्यालय, प्रहरी चौकी तथा सामाजिक सङ्घसंस्थासमेत बालमैत्री बनाएको नगरप्रमुख शर्मा गैरेले बताउनुभयो ।
बालमैत्री नगर निर्माणका लागि सामाजिक परिवर्तन हुन थालेका र हरेक सामाजिक कार्यमा बाल सहभागिता देखिन थालेको बालमैत्री नगरपालिका घोषणका स्रोत व्यक्ति विष्णुप्रसाद चौवीले बताउनुभयो । उहाँका अनुसार बालमैत्री नगरपलिका भएपछि नेपाल सरकारले अघि सारेको दिगो विकासलाई टेवा पुग्नेछ ।
नगरपालिकाले बालमैत्री पूर्वाधार र कार्यक्रमका लागि हालसम्म रू दुई करोड ५० लाख खर्च गरिसकेको छ । उहाँका अनुसार आगमी दिनमा निर्माण हुने पूर्वाधारसमेत बालमैत्री हुनेछन् ।
पालिकाले पठाएको सबै वडाको सूचकको प्रतिवेदनका आधारमा अनुगमन पश्चात् नगरलाई बालमैत्री घोषणाका लागि अनुमति दिइएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउनुभयो । यसबाट सरकारले अघि सारेको दिगो विकासका १७ लक्ष्य पूरा गर्नका लागि बालमैत्री स्थानीय शासनले ठूलो टेवा पु¥याउने उहाँको भनाइ थियो ।
बालमैत्री नगर घोषण पश्चात् नगरपालिकाले निरन्तर बजेट विनियोजन गरी सोहीअनुरूप कार्यान्वयन गर्दै लैजानुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले बताउनुभयो ।