भारतले नेपालगन्जस्थित जमुनाह नाका बन्द गरेको छ । शनिबार बिहान ६ बजेदेखि नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिडेका ठूलो संख्यामा नेपालीहरु नाकामा रोकिएका छन्।
भारतमा लामो समयदेखिअयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद विवाद छ । शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला सुनाउँदैछ । यसैका कारण नाका सिल गरेको भारतीय पक्षले जनाएको छ । भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको भएपनि कुनै सवारी साधन चल्न दिइएको छैन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
विविसी नेपाली लेख्छ भारतीय सर्वोच्च अदालते लामो समयदेखि प्रतीक्षा गरिएको विवादास्पद धार्मिकस्थल अयोध्याबारे शनिवार बिहान फैसला गर्ने भएको छ। राम मन्दिर-बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाई १६ अक्टोबरका दिन पूरा भएको थियो। शनिवार बिहान भारतीय समय साढे १० बजे फैसला सुनाउने तय गरिएको छ। अधिकारीहरूले शान्तिका लागि आग्रह गरेका छन्। उत्तर प्रदेश राज्यमा हजारौं प्रहरी र अर्ध सैनिक दस्ताहरू तैनाथ गरिएका छन्।
हिंशा मच्चिएला भन्ने त्रासकाबीच शुक्रवार सयौँ मानिसहरू गिरफ्तार गरिएका छन्। अयोध्यामा रहेको १६औँ शताब्दीको बाबरी मस्जिदबारे हिन्दू र मुस्लिमहरूबीच दशकौँदेखि तिक्ततापूर्ण विभाजन रहँदै आएको छ। यसबारे सर्वोच्च अदालतमा वर्षौँदेखि मुद्दा चल्दै आएकोले आजको फैसला ऐतिहासिक हुनेछ।
राजनीतिक रूपमा संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वमाथि विवाद रहँदै आएको छ। उत्तर प्रदेश राज्यस्थित अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्। तर मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौँदेखि प्रार्थना गरिरहेको बताउँछन्।
स्थानीय विद्यालय र कलेजहरू बन्द गरिएका छन् र उक्त स्थानमा पुग्ने सडकहरू प्रहरीहरूले कब्जामा लिएका छन्। प्रान्तीय प्रहरी प्रमुख ओमप्रकाश सिंहले रोयटर्स समाचार संस्थालाई बताए अनुसार अदालतको फैसला आउनुअघि सामाजिक सञ्जालहरूमा द्वेष फैलाउने किसिमका सामग्रीहरू राखिन्छन् कि भनेर अनुगमन भइरहेको छ।
उनले भने, “हामी हिन्दू या मुस्लिमले अदालतको फैसलामाथि सार्वजनिक प्रतिक्रिया दिएको सहने छैनौँ।” सरकारी विभागहरूले उत्पन्न हुन सक्ने हिं’सा नियन्त्रण गर्न तयारी गरेको बताएका छन्।
नाम उल्लेख गर्न नसक्ने शर्तमा गृह मन्त्रालयका एक अधिकारीले भने, “हाम्रा हरेक सुरक्षा अधिकारीहरू फैसला पछि हुन सक्ने साना देखि ठूला हिं’सा समेत नियन्त्रणमा लिन प्रतिबद्ध छन्।” “प्रान्तीय सरकारले केही विद्यालयहरूलाई आवश्यक परे अस्थायी जेलका रुपमा प्रयोग गर्ने गरी तयारी गरेका छन्।”
विवाद के हो?
विवादको केन्द्रमा उक्त स्थानमा १६ औँ शताब्दीमा बनेको एउटा मस्जिद छ। त्यसलाई सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको थियो। त्यसपछि भएको दङ्गामा कम्तीमा दुई हजार मानिसको निधन भएको थियो। बाबरी मस्जिद मुस्लिम आ क्रमणकारीद्वारा नष्ट गरिएको हिन्दू मन्दिरको भग्नावशेषमा बनाइएको हो भन्ने धेरै हिन्दूहरूको विश्वास छ। मुस्लिमहरू चाहिँ सन् १९४९ को डिसेम्बरसम्म उक्त मस्जिदमा आफूहरूले प्रार्थना गर्ने गरेको बताउँछन्।
त्यसपछि भने हिन्दूहरूले त्यहाँ एउटा रामको मूर्ति स्थापना गरे र त्यसको पूजा गर्न थाले। त्यसयता बितेका दशकहरूमा दुवै धार्मिक समूहहरू उक्त स्थान कसको नियन्त्रणमा रहनुपर्छ भन्दै कैयौँ पटक अदालत पुगिसकेका छन्। त्यस बेलादेखि नै उक्त मस्जिद रहेको स्थानमा मन्दिर स्थापनाका लागि आह्वान गरिँदै आएको छ। उक्त मुद्दामा सबैभन्दा माथिल्लो अदालतमा हालै भएको पाँच न्यायाधीशहरूको संयुक्त इजलासले त्यो क्षेत्र कसको हो भन्ने टुङ्गो लगाउनेछ।
अधिकांश भारतीय हिन्दू धर्मावलम्बी छन्। यो धर्म चार हजार वर्ष पुरानो भएको मानिन्छ। भारतमा पहिलो मुस्लिम राजवंशको स्थापना १३ औँ शताब्दीको सुरुमा भएको थियो।
Source : Nepalinsider.com