सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा २० वर्ष भन्दा कम उमेरमै बच्चा जन्माउने आमाहरुको संख्या उल्लेख्य रहेको पाईएको छ । उमेर नै नपुगी विवाह गर्ने र सामाजिक कारणले बालिक आमाहरुको संख्या बर्षेनी बढेको पाईएको हो ।
मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म गर्भ जाँच गराउन आएका ३ सय ३७ जना गर्भवती महिला मध्ये ४२ जना महिला २० वर्ष भन्दा कम उमेर समुहका रहेका छन् ।
कार्यालयका अनुसार गत आव २०७८/०७९ मा नगरपालिकामा गर्भ जाँचका लागि आएका कुल ५१७ जना गर्भवती मध्ये ८४ जना २० वर्ष मुनिकै थिए । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा गर्भजाँचका लागि आएका कुल ५१८ जना मध्ये ८६ जना महिला २० वर्ष भन्दा कम उमेर समुहका रहेको तथ्याङ्क छ ।
नगरपालिकाका जनस्वास्थ्य निरिक्षक पुष्कर गौतमले कम उमेरमै विवाह गर्नु र सामाजिक कारण २० वर्षभन्दा कम उमेरमै गर्भवती हुने गरेको बताउनुभयो । “पछिल्लो समय भागी विवाह गर्नेहरु पनि बढिरहेकाले कम उमेरमै विवाह गर्नेहरु बढेका छन् उहाँले भन्नुभयो – सामाजिक संस्कारका कारण पनि कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउनेहरुछन् ।”
नेपालको मुलुकी देवानी संहिता २०७४ मा २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ । बालविवाह गरेमा बालबालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र रु.१० हजारसम्म जरिवाना गर्ने व्यवस्था समेत गरेको छ । तैपनि बालविवाह नियन्त्रणमा आएको छैन ।
मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले १४ देखि ४९ वर्ष उमेर समुहलाई प्रजजन उमेर भनेर वर्गीकरण गरेपनि २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह ठहर गर्दा कानुनी तादम्यता नमिलेको बताउनुभयो । प्रजनन उमेर अनुसार १८ वर्ष उमेरसम्मलाई बालविवाहको मान्यता दिनुपर्ने उहाँको भनाई छ । पहिला अभिभावकले नै सानो उमेरमा विवाह गराउथे भने अहिले विभिन्न कारणले आफुखुसी विवाह गर्ने प्रचलनले पनि समस्या आएको जिसीले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम उमेरका आमा बुबाबाट जन्मने बच्चा शारीरिक र मानसिक रुपमा अशक्त हुनुको साथै आमा र बच्चाको स्वास्थ्य जोखिममा रहन्छ । सरकारले २०७२ सालमा पास गरेको बाल विवाह विरूद्ध रणनीतिमा सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने उल्लेख गरिएको छ ।