सागर भण्डारी, गुल्मी । लामो समयदेखि घुँडा दुख्ने र स्वासप्रश्वास सम्बन्धी रोगबाट थलिएकी मुसिकोट नगरपालिका वडा नं २ की ७० वर्षीय शन्ति नेपाली उपचारका लागि अन्यत्र जान सकेकी थिईनन् । तर आईतबार घर आँगनमै निःशुल्क स्वास्थ्य सेवा र औषधी पाएपछि उनी निकै खुसी देखिईन् ।
अस्पतालसम्म जान सक्ने अवस्था थिएन, गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार पाइयो,’ उनले भनिन् । उनी मात्र होइन सोही ठाउँका शेर बहादुर बि.क पनि घर आँगनमै उपचार र डाक्टरको सल्लाह लिन पाउँदा निकै खुसी थिए । “उमेरले ७५ वर्ष लागेँ घरदैलोमै यसरी डाक्टर आएर उपचार गरेको थाहा पाएको थिएन्, उनले भने- यत्ति उपचारका लागि बुटबल या तम्घास जानुपथ्र्यो पैसा पनि बँच्यो झण्झट पनि भएन ।”
वडा नं १ बाट स्वास्थ्य शिविरमा पुगेका लाल बोहोरा यसअगाडी बुटबलमा स्वास्थ्योपचारका लागि पुग्थे । गाउँमै डाक्टर आउने थाहापाएपछि उनी शिविरमा पुगे । ‘बेलाबेला उपचार गराउन बुटवल गईराख्न पथ्र्यो, उनले भने, ‘चेकजाँच यँहीं गर्न पाइयो, जाने आउने खर्च पनि जोगियो ।’
गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ वडा कार्यालयले आईतबार आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य शिविर मार्फत गाउँमै स्वास्थ्योपचार र स्वास्थ्य परिक्षण गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
देशका विभिन्न स्वास्थ्य संस्था र चिकित्सिकहरुको सहयोगमा बिशेषज्ञसहितको निःशुल्क शिविर संचालन गरिएको थियो । एक दिन सञ्चालित स्वास्थ्य शिविरबाट ४ सय १५ जनाले स्वास्थ्य परिक्षण एवम् उपचार गराएका छन् ।
बिरामीहरूले निःशुल्क रुपमै स्वास्थ्य परीक्षण सेवा, जनरल मेडिकल, दम, सुगर, प्रेसर रोगको परिक्षण, प्रसुती तथा स्त्री रोग सम्बन्धी सेवा, बाल रोग, टाउको तथा नशा रोग सम्बन्धी सेवा, नाक कान तथा घाँटी रोग, फिजिसियन तथा परामर्श सेवा, सुगर रोग, तथा भिडियो एक्सरे लगायतका सेवा लिएका छन् ।
गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने र विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले जानकारी दिए ।
जनताको घरदैलोको सरकारको रुपमा रहेको स्थानीय तह त्यसमा पनि वडा कार्यालयले आम नागरिकका समस्या समाधानका लागि हरदम प्रयासरत रहेको भन्दै उनले बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए । उनले भने-‘हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन्, त्यस्ता नागरिकका लागि शिविरले सहयोग पुर्याएको हामीले विश्वास लिएका छौँ ।”