गुल्मी : गुल्मी तथा बाग्लुङका सडकछेउ र बजारका चोकहरूमा भेटिने २१ वर्षीया रिता माझी युवापुस्ताका लागि अनुकरणीय छिन् । १४ वर्षको उमेरबाटै आमासँग मजदुरी गर्न हिँडेकी उनले गिटी–बालुवा र सिमेन्टसँगै बालपन साट्नुपर्यो ।
मुसिकोट नगरपालिका–७ बामीकी उनी बिहान ६ देखि साढे १० बजेसम्म कलेज जान्छिन् । घर पुगेर एक गाँस खाएपछि फोनको प्रतीक्षामा हुन्छिन् । कतैबाट कामको माग आउनेबित्तिकै पढाइले पट्यारिलो र थकित भएको शरीर लिएर कुद्नुपर्छ । तर, पनि जीवनका अभावलाई कर्ममा बदल्न उनले पढाइलेखाइको थकान र कलिलो उमेर भनिनन् । परदेशमा विभिन्न हन्डर खाएका स्वदेश फर्केका उनका बुबा ४२ वर्षीय गोपाल माझी पनि मजदुरी नै गर्छन् ।
जीविकोपार्जनकै लागि रगतपसिना बगाउनुपर्ने रिताजस्ता हजारौँ पात्र छन् हाम्रो समाजमा । तर, रिताले कडा परिश्रम र विपन्नताकै बीच पनि आफ्नो पढाइलाई निरन्तरता दिएकी छिन् । लगन र असल सोचका कारण युवाहरूमा ऊर्जा प्रदान गरेकी छिन् ।
रुद्रावती बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत रिता बिहान कलेज गएपछि दिउँसो काम खोज्न बजार र निर्माणस्थल पुग्छिन् । उनको पौरख पनि गज्जबको छ । उनकै उमेरका युवाहरू मजदुरी गर्न लाज मान्छन् । तर, रिता काममा सम्मान र विश्वास देख्छिन् । पेट पाल्नका लागि काम गर्नैपर्ने बुझेकी उनीसँग भोकै कडा श्रम गरेर खाली पेट सुतेको कैयौँ तिता अनुभव छन् ।
सानो उमेरमै कडा काम गर्दा देख्नेले कठै भने पनि रिताले आफूलाई कमजोर हुन दिइनन् । गैँटी हान्ने र बेल्चा फाल्नेसँगै छड सिमेन्टका बोरा बोक्ने काममा उनको शरीर अभ्यस्त बनेको छ । बजारमा ट्रक आउनेबित्तिकै गल्ला सामान अनलोडको काम पाइन्छ। तर, त्यो काम सधैँ हुँदैन । उनी घर, भवन ढलानसँगै अरू निर्माणका काममा पनि पुग्छिन् । त्यसबाहेक विवाह, व्रतबन्धलगायत उत्सवहरूमा भाँडा माझ्ने कामसमेत गर्ने गरेको रिताले सुनाइन् । ‘नगरेका काम केही पनि छैन । बाध्यताका अघि लाज, खुसी र उमेर केही होइन,’ उनले भनिन्, ‘जीवन बदल्न कर्म आवश्यक छ।’
रितालाई सुरुका दिनमा रड र सिमेन्ट बोक्दा थचक्क परेका र रोएका दिनको स्मरण हुन्छ । महिनावारीका वेला पनि उनले सिमेन्टका बोरा उचालिन् । विपन्नताका कारण उनको समुदायमा धेरैले पढाइ छाडेका छन् । तर, अध्ययनलाई निरन्तरता दिएकी रिता केही दिनअघि मात्रै नगर प्रहरीमा नियुक्त भएकी छिन् ।
दैनिक समयमै कार्यालय पुग्ने, सल्युट ठोक्ने, पहरेदारी गर्ने मात्रै नभएर धेरै कुरा ध्यान दिनुपर्ने बाध्यताबीच हरियो पोसाकमा नगरको गह्रुँगो जिम्मेवारी आएको उनी बताउँछिन् । ‘नगर प्रहरीसँग समग्र नगरको विषय जोडिएको छ । भारीभन्दा जिम्मेवारी गह्रुँगो हुँदोरहेछ,’ उनले भनिन्, पहिले कडा परिश्रम भएपनि जीवन स्वतन्त्र हुन्थ्यो । नगर प्रहरी भएपछि कानुनअनुसारका सीमा छन् ।’ उनी कानुनका सीमामा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने बताउँछिन् ।
रिता नगर प्रहरीमा छनोट भएपछि माझी परिवारमा खुसी छाएको छ । ‘परिवार खुसी नहुने कुरै भएन । भाइबहिनीले पोसाक कस्तो सुहाउँछ भन्छन्,’ उनले खुसी व्यक्त गरिन्, ‘टोलदेखि नगरसम्म सबैले बधाई दिइरहेका छन् ।
भिडियो हेर्नुहोस्