काठमाडौं । पछिल्लो समय युवा पुस्तामा निकै प्रिय बनेको जोडी हो, आयुष र एलिजेको जोडी । पाकिस्तानकी एलिजे जमाल र नेपालका आयुषसिंह ठकुरीबीचको प्रेमले यतिबला टिकटक मात्र नभएर सामाजिक सञ्जालमा पनि उस्तै चर्चा पाएको छ ।
प्रायः टिकटकमा लाइभ आएर सामान्य व्यक्तिगत र पारिवारिक गन्थन गर्ने यो जोडीलाई हेर्ने मात्र होइन, लाइभमा गिफ्टको वर्षा गर्नेको संख्या पनि निकै छ । पाकिस्तानको मुस्लिम समुदायकी एलिजे दुबईमा बस्छिन् ।
यो जोडीबीचको रोचक लाग्ने कुरा के छ भने, आयुष लाइभमा बच्चाजस्तै गरी नाच्छन्, गाउँछन्, कमेडी गरेर एलिजेलाई जिस्काइरहन्छन् । एलिजे पनि उस्तैगरी जिस्किन्छिन्, आयुषसँग ठुस्किन्छिन् पनि । नेपाली शब्द उच्चारणका क्रममा एलिजेको उच्चारण र शाब्दिक त्रुटिले झनै दर्शक तान्छ ।
यतिबेला लाइभमा लाखौँ दर्शक तान्ने उक्त जोडीको प्रेमले एलिजेसहित उनकी बहिनी र दाइसहितको टोली नै नेपाल तान्यो । लाइभकै क्रममा एकदिन नेपाल आएर आयुषसँगै लाइभ बस्ने वाचा गरेकी एलिजेले उक्त वाचा पूरा गरिन् ।
नेपाल घुम्न र म्युजिक भिडियो खेल्न नेपाल आएको भन्ने एलिजे र आयुषले यो अवधिमा नेपालको पर्यटनमा प्रवद्धन गर्ने समेत बताएका छन् । सधैँ बुर्का लगाएर लाइभमा आउने एलिजे नेपालका विभिन्न ठाउँमा आयुष र साथीहरूसँग घुमिरहँदा पनि बुर्कामै हुन्छिन् । तर उनकी बहिनीले भने कहिल्यै बुर्का लगाएको देखिँदैन ।
आफूहरू २२ वर्षको भएको बताउने यो जोडी । उमेर, धर्म, जात, रूप र भूगोलका कारण नटुट्नुपरोस् भनेर उनीहरूका शुभचिन्तकले कामना गरिरहेका छन् । केही दिनअघि नेपाल आएकी एलिजे नेपाल आउने दिन पनि यो जोडीले टिकटक लाइभ गरेको थियो । जुन लाइभ दुई लाखभन्दा बढी दर्शकले हेरेका थिए ।
उसो त अन्तरजातीय या अन्तरभूगोलीय प्रेम यी दुईबीच मात्र भएको पक्कै पनि होइन । यसअघि पनि यस्ता धेरै प्रेम सम्बन्धमा रहेका उदाहरण छन् । जो, जात, धर्म र भूगोलको बेप्रवाह गरी सम्बन्धमा रहेका छन् । केही समयअघि राइडर साभ्या केसी पनि भारतका एक राइडरसँग प्रेम सम्बन्धमा रहेको र कुरा बिहेसम्म पुगेको कुरा सामाजिक सञ्जालमा निकै चर्चामा थियो ।
साभ्या ती प्रेमीको घर भारत पनि पुगिन् । तर पछि सम्बन्ध टुट्यो । यतिबेला उनी आफ्नो पहिचान नै भुलेर अस्ट्रेलियामा बस्न थालिन् । कतिपयले यो जोडीलाई पनि साभ्याकै जोडीजस्तो दृघकालीन नहुने कमेन्ट गर्छन् । यता, आयुष र एलिजे भने एकअर्काको परिवारसँग समेत निकै निकट छन् । बहिनी र केही आफन्तसहित आयुष भेट्न नेपाल आएकी एलिजे यतिबेला आयुष र उसको परिवारसँग आत्मीय सम्बन्ध बनाउन व्यस्त छिन् ।