काठमाण्डौ : हुन त हामीले पर्दाभित्र र बाहिरको दुनियाँ पृथक छ भन्छौँ । हुन पनि चलचित्र होस् या नाटक, त्यहाँ देखाइने कतिपय कथावस्तु मानिसको दैनिकीभन्दा निकै पर हुन्छन् ।
यसकारण पनि मानिसले पर्दाभित्र र बाहिरको दुनियाँलाई फरक नजरबाट हेर्छन् अनि आफूसक्दो विश्लेषण गर्छन् । तर समाजमा कतिपय यस्ता वास्तविकता पनि सिर्जित हुन्छन्, जसलाई हामीले यो पर्दामा देखेका/भेटेका पात्रभन्दा फरक पाउँदैनौँ । यस्तै एक उदाहरणीय जोडी हो- सिर्जना सुवेदी र विकेक पंगेनीको जोडी ।
टिकटकमा बढी सक्रिय रहने यो जोडी कुनैबेला ‘भाइरल डान्स जोडी’ थियो । आफू नाच्न जान्ने सिर्जनाले श्रीमान् विवेकलाई पनि आफूसँगै नचाउँथिन् । खासै ढंग पुर्याएर नाच्न नजान्ने विवेकको डान्स स्टेपले धेरै दर्शक कमाएको थियो । तर समय सधैं एउटै गतिमा रहेन। केही महिना पहिलेसम्म टिकटकमा ‘बुढो नचाउने दिदी’ उपनाममा भाइरल बनेकी सिर्जनाको दैनिकीसँगै उपनाउँ पनि फेरियो यतिबेला ।
श्रीमान विवेकलाई जबर्जस्ती नचाएको भन्दै बेलाबेला दर्शकबाट अमिला प्रतिक्रिया पाइरहने सिर्जनाले यतिबेला उनै दर्शकको अपार माया पाएकी छन् । तर परिस्थितिले भने अमिलो मात्र होइन, निकै तीतो यथार्थ थमाएको छ उनलाई ।
टिकटकमा सिर्जनाले सिकाएको हाउभाउ कपी गर्ने उनका श्रीमान् विवेक यतिबेला ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका छन् । आज पनि सिर्जना टिकटकका उस्तै स्टेप गरेर मृत्युसँग लडिरहेका विवेकलाई हौसला दिइरहेकी छन् । आजभोलि पनि उनी प्राय: टिकटक बनाइरहन्छिन्। दर्शकको मागअनुसार श्रीमानको दैनिकी लगायतका कुरा पनि देखाउँछिन् ।
देखाउन त उनले आफ्नो दैनिकी देखाएकी हुन् । तर उनको त्यही दैनिकी आम-दर्शकका लागि कुनै ‘स्याड मुभी’को स्टोरीभन्दा कम छैन । पतिको अन्तिम अवस्थासम्म पनि यसरी हौसाइरहेकी सिर्जनालाई दर्शकले पनि अपार माया दिएका छन् । कुनै समस्या परे साथ दिने आश्वासन दिने उनै दर्शकले सिर्जनालाई देवीको रूप मान्न थालेका छन् ।
टिकटकमा सिर्जनाले देखाएको एउटा दृश्य, जुन हेरेर आँसु नबगाउने कमै दर्शक होलान् । उक्त दृश्यमा: सिर्जनाले विवेकको कपाल काटिदिन्छिन्, उभिन सके पनि बोलचाल गर्न खासै नसक्ने विवेक सिर्जनालाई एकोहोरो नियालिरहेका हुन्छन्। लगत्तै सिर्जनाले आफ्नो कपाल पनि काट्दै भक्कानिन्छिन् । प्राय: गह भरिरहने सिर्जना काटेको कपाल हातमा लिएर श्रीमानलाई देखाउँदै आँसु बगाउँछिन्। उनीसँगै विवेकले पनि आँसु झार्छन् ।
हुन त श्रीमान्-श्रीमतीको जोडी जीवनभर जस्तोसुकै परिस्थितिमा पनि रहने भएकाले ‘जीवनसाथी’ भनी नामाकरण गरिएको होला । तर पूँजीवादी समाज त्यसमाथि पनि व्यक्तिवादी बन्दै गएको हाम्रो सामाजिक संरचनाका लागि सिर्जना एक उदाहरणीय नारी पात्र बनिन् ।
रोगका कारण भौतिकशास्त्रमा पिएचडी गर्नलाई पूर्ण छात्रवृत्ति कोटामा अमेरिका पुगेका विवेकको पिएचडी मात्र होइन, सिर्जनाका सपना पनि विवेकको स्वास्थ्यजस्तै गलेका छन् । अमेरिका गएको सुरुवाती दिनमा त्यहाँका विभिन्न ठाउँमा भिडियो बनाउने यो जोडीको जीवनमा त्यतिबेला भूकम्प आयो, जतिबेला विवेककी आमाको निधनका कारण करिब साढे दुई महिना अगाडि नेपाल आए ।
करिब सात महिना पहिले निकै सपना सजाएर खुसीसाथ अमेरिका पुगेका उनीहरूको जीवनमा आमाको निधनसँगै अर्को पनि बज्रपात आयो । आमाको काजकिरिया सकेर अमेरिका फिर्ने तयारीमा रहेका विवेकको स्वास्थ्य परीक्षण गर्दा समस्या देखियो ।
अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा विवेकलाई क्यान्सर लागेको थाहा भयो । लागेको मात्र होइन्, चौँथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि उनीहरूमाथि के बित्यो होला, यो त भोग्नेलाई मात्र थाहा होला । लगत्तै उनीहरू अमेरिका गए । विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो। त्यसपछि हालसम्म पनि उनको उपचार चलिरहेको छ ।
मेडिकल र विज्ञानको चमत्कार त छँदै छ । त्यसभन्दा आफ्नो प्रेम र हौसलाले विवेकलाई शक्ति दिने हिम्मत राख्दै निरन्तर साथ र हौसला दिइरहेकी छन् सिर्जना । देश सञ्चारबाट