सर्लाही । सर्लाही हरिपुर नगरपालिका- ३ स्थित फरहदवा लक्ष्मीपुरमा एक महिलाको हत्या भएको छ।
वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट एक लाख रूपैयाँ नल्याएको भन्दै पटक-पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताए ।
ईदा बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटक(पटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाए । ‘इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो’, बुबा साहले भने । कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो ।
घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीको भनाइ छ ।-Photofile