छोराले तेस्रो बिहे गरे,सासू-ससुराले बुहारीको ज्यान लिए,खाल्डो खनेर गाडे

छोराले तेस्रो बिहे गरे,सासू-ससुराले बुहारीको ज्यान लिए,खाल्डो खनेर गाडे

Badigad Online
4 Min Read

कैलाली : कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्काकी कविता बुढाले स्थानीय अर्जुन बुढासँग प्रेम विवाह गरिन् । उनले माइतीघरको सहमतिबेगर अर्जुनसँग विवाह गरेकी थिइन् ।

सुरुवातमा अर्जुन र कविताको सम्बन्ध राम्रै थियो । अर्जुनले पनि कवितालाई प्रेम गर्थे । तर, बिहे भएको केही समयपछि भने अर्जुनले कवितालाई विगतजस्तो वास्ता गर्न छाडे । योक्रम त्यहीँमा रोकिएन । अर्जुनले कवितालाई छाडेर अर्को बिहे गरे ।

श्रीमानको यो हर्कत देखेर कवितालाई तनाव थपियो । श्रीमानले नै साथ छाडेकी उनलाई सासू–ससुराबाट आश थियो । तर, सासू–ससुराले उल्टै उनको श्वास चुँडे । अर्थात् सासू–ससुराबाट नै कविताको २७ वर्षको उमेरमै हत्या भयो ।

उनका श्रीमान् अर्जुन हाल तेस्रो श्रीमतीसँग भारतको बैंग्लोरमा बस्दै आएका छन् । अर्जुनले कविताले छोरो जन्माएपछि दोस्रो र दुई वर्ष अगाडि तेस्रो बिहे गरेको खुलेको छ । २७ वर्षीया कविताको ८ वर्षको छोरा र ५ वर्षकी छोरी छन् । दोस्रो सौताले अर्जुनलाई छोडेपछि तेस्रो बिहे गरेका उनीसँग कविताको राम्रो सम्बन्ध थिएन ।

तेस्रो सौतालाई कविताले घरमा बस्न नदिएपछि अर्जुन गत वर्ष तेस्री श्रीमती लगेर भारत गएका थिए । घरमा कविता सासू–ससुराबाट अलग्गै बस्दै आएकी थिइन् । छोरालाई घरमा बस्न नदिएको निहुँमा सासू लहरी बुढा र ससुरा डिल्लीसिंह बुढाले कवितासँग दैनिक झगडा गर्ने गरेको कविताका माइती पक्षले बताएको छ ।

यही १५ जेठमा बिजुलीको बिल तिर्ने विषयमा कवितासँग सासू–ससुराले झगडा गरेका थिए । त्यसपछि १८ गते राति अन्दाजी ९ बजेको समयमा आफ्नै घरको भान्साकोठामा खाना पकाइरहेकी कविताको हत्या भएको कैलाली प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भान्सामा खाना पकाइरहेकी कवितालाई ससुरा डिल्लीले चिरपटले टाउकोमा हिर्काएको खुलेको हो । प्रहरीसँगको बयानमा लहरी र डिल्लीले चिरपटले टाउकोमा हान्दा ज्यान गएको बताएका छन् ।

१८ जेठमा डिल्लीले बुहारी कविता बुढा हराएको निवेदन चौमाला प्रहरी चौकीमा दिए । तर, उनले र उनकी श्रीमतीले १८ गते राति कविताको हत्या गरेर घरबाट तीन किलोमिटर टाढाको केदारेश्वर सामुदायिक वनमा खाल्डो खनेर गाडेका थिए । कविताको मृत शरीर बोरामा हालेर ८ फिट ४ इन्च गहिराइको सुख्खा नालामा कविताको लाश फेला परेको थियो ।

कविता हराएको जाहेरी १८ गते दिएर २२ गतेसम्म डिल्लीसिंह बुढा सम्पर्कमा नआएपछि कविता बुढाका भाइ पराने बुढाले इलाका प्रहरी कार्यालय चौमालामा निवेदन दिएका थिए । घटना शंकास्पद देखिन गएकाले लहरी बुढालाई प्रहरीले केरकार गर्दा उनले हत्या गरेर खाल्डोमा गाडेको ठाउँ प्रहरीलाई देखाएकी थिइन् ।

१९ जेठमा डिल्लीले निवेदन दिएपछि उनी कविताका छोरा डण्डीरासहित सम्पर्कविहीन भएका थिए । कविताको हत्यामा उनकी सासू र ससुराको संलग्नता प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । डिल्लीको खोजतलासका क्रममा निजको अन्तिम ठेगाना २२ जेठको ४ बजे कञ्चनपुरको परासनमा देखिएको थियो । प्रहरीले त्यसपछि जयवीर बुढालाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।

डिल्लीलाई भगाइ जेठ २० देखि २२ गतेसम्म कञ्चनपुरको बिचफाँटामा लुकाईछिपाई राख्न सहयोग गर्ने जयवीर बुढालाई प्रहरीले २३ जेठमा पक्राउ गरेको हो । घटनाका मुख्य अभियुक्त डिल्लीलाई भने प्रहरीले भजनी नगरपालिका–३ को नेपाल–भारत सीमावर्ती इलाकामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बुहारीको हत्यापछि उनी र श्रीमती मिलेर लाशलाई डोकोमा हाली घरभन्दा तीन किलोमिटर टाढाको केदारेश्वर सामुदायिक वनमा खाल्डो खनेर गाडेको खुलेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित