मरेको मान्छे बचाउने दाबी गर्दै विजयी शाहीको ‘कमब्याक’

मरेको मान्छे बचाउने दाबी गर्दै विजयी शाहीको ‘कमब्याक’

Badigad Online
2 Min Read

काठमाडौँ | अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी अर्को झनै अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् ।

आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर शाहीले ‘मरेको मान्छे बचाउन सक्ने’ गफ हाँके । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।

‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ शाहीले भने ।

चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । यसका लागि भर्खरै मरेको ताजा लास खोज्न अस्पताल जान लागेको उनले बताए ।

शाहीको दाबीअनुसार उनको टीमले चारवटा कारणले अकालमा मरेका मान्छेलाई बचाउन सक्छन् । पहिलो, सर्पले टोकेको, दोस्रो पानीमा डुबेको, तेस्रो हृदयघात भएको र चौथो निसास्सिएर मरेको ।

‘यदि यस्ता घटनाहरू तपाईंका वरिपरी भएका छन् भने तुरुन्त यो नम्बरमा फोन गर्नुस्, हामी दौडेर आइहाल्छौं,’ फोन नम्बर पनि सार्वजनिक गर्दै उनले भने ।

मृत्यु भएको आठ घन्टाभित्र आफूहरूले भेट्टाए बचाउन सक्ने उनको दाबी छ । कालगतिले वा वृद्धावस्थाले मरेकाहरूलाई भने बचाउन नसक्ने शाहीले बताए ।

‘जो कालगतिले मर्नुभएको छ, उहाँहरूको लासलाई हामी छुँदा पनि छुँदैनौं, हामीले बचाउने भनेको अकालमा मरेकाहरुलाई मात्र हो,’ उनले भने ।

स्वास्थ्यविदहरू समेत रहेको आफ्नो टीमले मरेको प्राणीलाई फेरि ज्यूँदो बनाउन सक्ने केमिकल विकास गरेको शाहीले बताए । प्रधानमन्त्री कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्मलाई जानकारी दिएर आफूहरू यो अनुसन्धानमा लागेको भन्दै उनले आफ्नो काममा साथ र हौसला दिन सबैलाई अपिल गरे ।

शाहीले गरेको दाबीलाई भने धेरैले मजाकमा उडाइरहेका छन् । फेसबुक लाइभमा उनलाई अत्यधिक नकारात्मक कमेन्ट र गालीगलौज भइरहेका थिए । तर, शाही निर्धक्क भएर भन्दै थिए, ‘तपाईंहरू गाली गर्दै गर्नुस्, म मरेको मान्छे बचाएर देखाउँछु ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित