बागलुङ : बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बोसेललाई जिल्ला अदालत म्याग्दीले दुई लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
म्याग्दीकी एक युवतीले अपहरण तथा शरीर बन्धक गरेको भन्दै जेठ २ गते दिएको उजुरीका आधारमा जेठ ७ गते कास्कीबाट गिरफ्तार गरिएका बोसेललाई जिल्ला न्यायाधिश कृष्णप्रसाद शर्मा नेपालको इजालसले धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो ।
मुलुकी अपराध संहिता-२०७४ को दफा ७२ समेतलाई दृष्टिगत गरी दफा ६८ बमोजिम उक्त रकम धरौटी लिएर तारेखमा छाड्ने र यदी धरौटी नराखेमा थुनामा पठाउने आदेश भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत शंकर सापकोटाले जानकारी दिनुभयो ।
म्याग्दी अदालतमा बसेल विरुद्धको अपहरण र शरिर बन्धक सम्बन्धी बिचाराधिन मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । कास्की जिल्ला अदालतमा बसेल विरुद्ध दर्ता भएको जवरजस्ती करणी सम्बन्धी अर्को मुद्दा बिचाराधिन छ ।
जिल्ला अदालत म्याग्दीका तहसिलदार शंकर सापकोटाका अनुसार बसेलले तोकिएको धरौटी रकम बुझाएनन् । धरौटी जम्मा नगरेको, मुद्दाको अन्तिम फैसला नभएको र अर्को मुद्दा बिचाराधिन रहेकाले प्रभात छुट्न सकेनन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले कास्कीको अर्को मुद्दाको थप अनुसन्धान गर्नका लागि प्रभातलाई कास्की पठाइएको बताउनुभयो ।