कहिले पुग्ला रणसिंकिटेनीमा सडक ?

कहिले पुग्ला रणसिंकिटेनीमा सडक ?

Badigad Online
4 Min Read

बागलुङ : २०६६ मा बडिगाड गाउँपालिका–४ को जलजलामा पुगेको सडक छिमेकी वडा नम्बर–८ को रणसिंकिटेनीमा भने अझै पुग्नसकेको छैन । वडा कार्यालय र स्वास्थ्य चौकी पनि सडक सञ्जालले छोएको छैन । सडक नपुग्दा स्थानीय पैदलै हिँड्न बाध्य छन । अत्यावश्यक काम पर्दा गाउँपालिका पुग्न उनीहरूले घण्टौँ पैदल यात्रा गर्नुपर्छ ।

रणसिंकिटेनीमा सडक लैजाने पहल १४ वर्षअघि नै भएको थियो । काम थाल्न स्थानीय जुर्मुराएका पनि हुन् । उपभोक्ताले ५० लाख रुपैयाँ चन्दा संकलन गरेर काम थालेपछि तत्कालीन जिविसले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त रकमले रणसिंकिटेनीको सिमानासम्म मात्रै पुग्यो । उक्त रकमले १२ किलोमिटर ट्य्राक खोल्ने लक्ष्य लिएका स्थानीयले आधा पनि काम गर्न सकेनन् ।

तत्कालीन उपभोक्ता समितिले जलजलादेखि रणसिंकिटेनीको सिमानासम्म सडकको ट्य्राक खोलेपछि बजेट सकियो । पटक–पटक स्थानीयले चन्दा उठाएर केही पहरा फोड्ने प्रयास पनि गरे । जिविस खारेजीपछि स्थानीय तहले आफ्ना वडालाई सडक सञ्जालमा जोड्ने लक्ष्य बनायो । तत्कालीन गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जलजला र भिमगिठे दुवैतर्फबाट ट्य्राक खोल्न प्रयास गरे ।

वर्तमान अध्यक्ष गण्डकी थापा अधिकारीले पनि बजेटमा सडक निर्माणलाई प्राथमिकता दिएकी छिन् । तर भौगोलिक कठिनाइले अझै सडक सञ्जालले जोड्न नसक्दा सवारी चढेर गाउँ पुग्ने स्थानीयको सपना पूरा हुन सकेको छैन । वडाको दुवैतर्फको सिमानामा सडकले छोए पनि वडा कार्यालय पुग्न अझै २ घण्टा पैदल हिँड्नैपर्छ । ‘म आफैं दुई घण्टा नहिँडे वडामा पुग्नै सक्दिनँ,’ वडाध्यक्ष जंगबहादुर बलालले भने, ‘शिक्षा र स्वास्थ्य सेवा लिनेले पनि पैदलै हिँड्न बाध्य छन् ।’ हरेक वर्ष श्रमदान र स्थानीयले पैसा उठाएर सुरु गरेको सडक निर्माण अझै पूरा हुन नसकेको उनले बताए ।

‘दस वर्षसम्म चन्दा उठाएर काम गरेका हौं, अब चन्दा उठाउने अवस्था छैन’ बलालले भने, ‘गाउँपालिकाको बजेट लगानी गरेर काम अगाडि बढाइरहेका छौं, तर अझै पूरा हुने अवस्था छैन ।’

वडाका मुख्य बस्तीमा सडक कहिले पुग्छ भन्ने उनले अझै अन्यौल भएको बताए । चार वर्षअघि नै बडिगाड गाउँपालिकाले चक्रपथ निर्माणका लागि यो सडक रोजेको थियो । अहिलेसम्म जलजलादेखि भेडीखोर हुँदै खोलाखर्क पुग्ने सडकको ट्य्राक खुलेको छ । तर यी गाउँलाई स्वास्थ्यचौकी र वडासम्म जोड्ने योजना बजेट अभावमा पूरा नभएको हो ।

गाउँपालिकाको ४५ लाख लगानी गरेर भेडीखोरदेखि दोभान जाने ट्य्राकको तयारी भए पनि यो बजेट अभाव भएको हो । अहिले पुरानो गाउँनजिकको भिरमा खन्न लागिएको सडक पनि बजेट अभावले स्थगित भएको छ । पालिकामा बैठक परेर जानु परे वडाबाट दुई घण्टा पैदलपछि रणसिंकिटेनीबाट ३ घण्टा जिपको यात्रा गर्नुपर्ने उनले बताए । बलालका अनुसार चालु आर्थिक वर्षमा भेडीखोरदेखि दोभान जाने सडकलाई गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाले ९७ लाख विनियोजन गरेको थियो । रकम अपुग भएपछि पालिकाले २९ लाख रुपैयाँ थप्ने निर्णय गरेको छ ।

‘प्रदेशको ६० लाखले २ सय मिटर पनि बाटो खन्न सकिएन,’ उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पाइजाले भने, ‘पहरा फोडेर लैजानुपर्ने भएपछि बजेट सकेर काम रोकिएको छ ।’ सीमित बजेटमा काम गर्दा अझै तीन वर्षमा पनि सडक जोड्न कठिन हुने उनले बताए ।

सडकको ट्य्राक जोडिएमा रणसिंकिटेनी, भेडिखोर, पुरानो गाउँ हुँदै भिमगिठे निस्कन सहज हुनेछ । ‘यो सडक बनिसक्दा वडाभित्रै ६० किलोमिटरभन्दा लामो हुनेछ । लगानी जुटाउन नसकेर अहिले सबै आजित भइसके,’ बलालले भने, ‘नियमित काम भए अझै सडकले जोडिन तीन वर्ष लाग्ने सम्भावना छ ।’ भिमगिठे दोभान रणसिंकिटेनी हुँदै भेडीखोर पुग्ने सडकको डीपीआर बनाएर काम थालेको चार वर्षमा पनि यो सडकको ट्रयाक जोड्न नसकिएको उनले गुनासो गरे ।

रणसिंकिटेनी एउटा वडामात्रै भए पनि भौगोलिक रूपमा अन्य पालिकाभन्दा ठूलो छ । यहाँका बासिन्दा भेडापालन, आलु, गहुँ र जौजस्ता खेती गरेर जीवन निर्वाह गरिरहेका छन् । कान्तिपुरबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित