आउने मँसिर १ गतेबाट बाग्लुङ्गको बडिगाड ५ ग्वालीचौरमा लाग्ने सांस्कृतिक न्वागी मेलाको अवसर पारेर दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिताको सञ्चालन हुने भएको छ ।

नेपाल सितोरियो कराते बडिगाड डोजोको संयोजनमा मंसिर १ र २ गते ग्वालिचौरमा दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिता २०७६ को आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ८० हजार, ५० हजार र ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमलाई १५ हजार नगद र खान–बस्नको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि सबै तयारी अन्तिम अवस्थामा पुगेको प्रतियोगिताका संयोजक राजन पाईजाले बताए । पाइजाका अनुसार कार्यक्रममा ३० भन्दा बढी समुहले भाग लिने छन् ।

करिब ३० लाख रुपैयाँको बजेट अनुमान गरिएकोमा गाँउापलिकाले २२ लाख रुपैया सहयोग गरेको छ भने अन्य सहयोग अन्य श्रोतबाट जुटाइने छ । राष्ट्रिय स्तरकै प्रतियोगीता आयोजना गरि बडिगाडमा युवाहरुको कराते खेल मोहलाइ सम्मान गरिएको छ ।

यस खालको कार्यक्रम आयोजना हुने भएपछि बडिगाड मात्र नभएर पश्चिम बाग्लुङ्गलाइ नै खेल क्षेत्रमा चिनाउन मद्धत पुग्ने डोजोका अध्यक्ष राजन पाइजाले बताए । सो प्रतियोगीता मँसिर १ र २ गते हुने छ भने जनता टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ । डोजोकै आयोजनामा गत बर्ष पनि यसखालको प्रतियोगीता आयोजना गरिएको थियो ।

पौदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा यस बर्ष पनि बाग्लुङको बडिगाड गाँउपालिका ५ ग्वालीचौर स्थित खार बजारमा मेला लाग्ने भएको हो । यस महोसबलाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन । मेला मँसिर १ देखी १० गतेसम्म सञ्चालन हुुनेछ ।