अनिश शर्मा गैरे बाग्लुङ्ग
पश्चिमाञ्चल क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेला आउने मँसिर १ गतेदेखी ६ गतेसम्म सञ्चालन गरिने भएको छ । पौदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा यस बर्ष पनि बाग्लुङको बडिगाड गाँउपालिका ५ ग्वालीचौर स्थित खार बजारमा मेला लाग्ने भएको हो ।
नया अन्न भित्राउँदाको खुशी
यस मेलालाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन ।
स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुवैले खाने गरेका छन । खेत भएका हरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।
परापुर्व कालमा स्थानीय हरुले बाजागाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन । मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन । यस बर्ष पनि बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजकले जनाएको छ ।
खुल्ला भलिबल प्रतियोगीता, गाँउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता, लोकगित तथा नृत्य प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला रेकड डान्स, कुर्सी दौड, लुठो तान प्रतियोगीता, शैक्षिक प्रदर्शनी, कृर्षी ब्यवसायी द्धारा उत्पादित कृर्षीजन्य बस्तु प्रदर्शनी लगायतका कार्यक्रमले यस बर्ष पनि प्राथमिकता पाएका छन् ।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय तथा स्थानिय स्तरका लोकदोहोरी ,आधुनिक, तथा हास्यकलाकारको बोजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम यस क्षेत्रका प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल प्रमुख अतिथिको रुपमा आउने भएका छन् । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ ।
कृषकहरुले उत्पादन गरेका नगदे, हिउदे, खाद्यान्न, बेमौसमी लगायतका कृषिप्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।
न्वागीको सुरुवात
नेपालको ऐतिहासिक अध्ययन क्रममा १२ औं शताब्दीको तत्कालिन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५ औं शताब्दी तिर उक्त राज्य टुक्रिएर स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर ईस्मा राज्य अन्तगर्त पर्थ्यो, गुल्मीको नेटा, पौदीअमराई, ईस्मा र ग्वालीचौरमा ८० घरहरु थिए । त्यसलाई ईस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभुमि रहेको समितिका अध्यक्ष कलाधर घिमिरे बताउँछन ।
बाईसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट ईस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए । उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ ।
छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन ।
दुइ जिल्लाको पर्व
ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रशिद्ध न्वागी पर्व बागलुङको बडिगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, इस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ । यो न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखा, लगायत देशका बिभिन्न भागहरुमा पनि मनाईने गरिन्छ ।
व्यापार गर्ने समय
मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पिङ्ग लगायत गरि साना र ठूला व्यापारको बिभिन्न स्टलहरु बुकिङ हुने गरेका छन् ।
विशेष गरि मेलामा बढि मात्रमा फलफुल अन्र्तगत सुन्तला, होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ ।
यसैबिच शुक्रवार मुल समारोह समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको भेलाले महोत्सब भव्य रुपमा मनाउने गरी बिभिन्न ११ उपसमिति गठन गरेको छ । भने मञ्च व्यवस्थापन, रमाइलो मेला, साउन्ड सिस्टम लगायतका बिषयमा जिम्मेवारी पनि प्रदान गरिएको छ । मेलालाइ विगतको भन्दा व्यवस्थित बनाउने प्रयासमा आयोजक लागेका छन् ।