सागर भण्डारी, गुल्मी । बागलुङको बडिगाड गाउँपालिकामा निर्माणाधिन १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
नेपाल सरकारको एक स्थानिय तह एक अस्पताल अभियान अन्तर्गत बडिगाड गाउँपालिका वडा नं ५ टारीमा बन्दै गरेको अस्पतालको संरचनागत कामहरु लगभग अन्तिम चरणमा पुगेका छन् ।
अस्पताल निर्माणका लागि कालिगण्डकी प्रदिप जुम्ली जे.भी प्रालिसगं २०७८ साल असार २९ गते सम्झौता भएको थियो । भ्याट बाहेक कुल १५ करोड १७ लाख ६५ हजार ५ सय ५६ रुपैयाँ निर्माण हुँदै गरेको अस्पतालको संरचनागत काम अन्तिम चरणमा पुगेको ईन्जिनियर कृष्ण क्षेत्रीले बताउनुभयो । पूर्वाधार र संरचनाको हिसाबले बागलुङ जिल्लाकै नमुना अस्पताल र फरक डिजाईनमा बनेको उहाँको भनाई छ ।
अस्पतालको अहिलेसम्म भवन निर्माण, शौचालय, आवास गृह, शव गृह र चमेना गृह निर्माणको काम सम्पन्न भएको छ । त्यसको प्लास्टर सगैं अन्तिम चरणका कामहरु धमाधम चलिरहेको छ ।
सम्झौता अनुसार निर्माण कम्पनीले यही असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । तर बीचमा रकम निकासा हुन ढिलाईँ हुँदा केही समय निर्माणको काम रोकिएकाले उक्त समयावधि भित्र सम्पन्न हुन नसक्ने र अझै कम्तिमा पनि ६ महिना लाग्ने भएकाले म्याद थप गर्ने तैयारी निर्माण कम्पनीले गरेको छ ।
गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजना अघि सारेको भन्दै प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले समयमै निर्माणको काम सम्पन्न गर्न समयसमयमा गाउँपालिकाको तर्फबाट अनुगमन र निर्माण व्यवसायीलाई आवश्यक सरसल्लाह दिने काम निरन्तर गरिरहेको बताउनुभयो ।
अस्पताल निर्माण सम्पन्न भएसगैं जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकाले पहल गर्ने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । यसक्षेत्रका नागरिकहरुलाई सामान्य स्वास्थ्य उपचारको सेवा समेत नहुँदा पोखरा, पाल्पा, काठमाण्डौ लगायतका स्थानमा जान बाध्य भएको भन्दै उहाँल अस्पताल निर्माणसगैं यस क्षेत्रका नागरिकको स्वास्थ्य समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
बडिगाड ५ रिखेटारिमा निर्माण हुँदै गरेको अस्पतालका लागि स्थानीयले १० रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए । सदरमुकाम वा अन्य सहरमा उपचार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयहरु आफ्नै ग्रामीण क्षेत्रमा आधुनिक सेवासहित अस्पताल निर्माण हुने भएपछि खुसी भएका छन् ।
नेपाल सरकारले १५ शैयाको अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने गरी देशभर एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान सुरु गरेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैयाका आधारभूत अस्पतालका कर्मचारीको तलब भत्ता र अन्य सुविधा आफैं व्यहोर्न सबै स्थानीय तहलाई पत्र पठाएको छ ।
१५ मंसिर २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ ३०९ अस्पतालको शिलान्यास गर्नुभएको थियो ।