पूर्व बैंकर रविना देशराज श्रेष्ठले लगनगाँठो कसेकी छिन् । उनले प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।
बिहीबार निकट साथीभाइ तथा आफन्तकाबीच उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् । प्रसन्न मुद्रामा देखिएका यी जोडीलाई रविनाका छोरा आयुष्मान देशराज श्रेष्ठ जोशी, बुहारी प्रियंका कार्की, कान्छा छोरा आशिरमान देशराज श्रेष्ठ जोशीले साथ दिइरहेका देखिन्छन् ।
रविना राताे लेहेंगामा सजिएकी छिन् भने स्टुआर्ट सेताे र राताे पहिरनमा विवाहमा देखिए । हिन्दु परम्परा अनुसार उनीहरूले धुमधामसँग विवाह गरेका छन् ।
यसैगरी, माेडल परमिता राणा र निरिशा बस्नेत पनि रविनाकाे विवाहमा रमाइरहेकाे देख्न सकिन्छ । विवाहका लागि नै स्टुआर्टकी छोरी इसाबेला च्यापमान पनि यतिबेला आफ्नी छोरी लिएर नेपाल आइपुगेकी छिन् ।यसैगरी, स्टुआर्टका छाेरा एलेक्जेन्डर च्यापम्यान पनि बेहुलाकासाथमा देखिएका छन् ।
बेलायती नागरकि स्टुआर्ट विश्व वन्यजन्तु कोषमा कार्यरत छन्। गत वर्षको भ्यालेन्टाइन डेमा रवीनालाई प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यापम्यानले विवाहको प्रस्ताव राखेका थिए। रविनाले इन्स्टाग्राममार्फत आफ्नो ईन्गेजमेन्टको जानकारी दिएकी थिइन् ।
केही समय अघि सेलिब्रिटी बैंकरका रूपमा परिचित रविनाले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी थिइन् ।