सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको दोश्रो नगरसभाको चौधौँ अधिवेशनमा नगरप्रमुख जीवन खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिईएको छ ।
नीति तथा कार्यक्रममा कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिँदै कृषि उपजको भण्डारणका लागि शीत भण्डारको व्यवस्था गर्ने तथा विद्यमान शैक्षिक बेरोजगारीलाई कृषिमा आवद्ध गराउँने उल्लेख गरिएको छ ।
“पख्नोस तपाईँका लागि हामी केही गर्ने छौँ” कार्यक्रम अन्तर्गत नगरपालिका भित्र उत्पादनमूलक एव्म स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नेलाई चौमासिक मूल्यांकनको आधारमा प्रोत्साहन गर्ने, कृषिमा विविधिकरण ,यान्त्रिकीकरण तथा व्यवसायिकरण गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउने, अण्डा, मासु र दुधमा आत्मनिर्भर भएसगैं उक्त वस्तुहरु निर्यात गर्ने र आफ्नो उत्पादनलाई बाह्य निर्यात गर्ने कृषकलाई विशेष सहुलियत दिने उल्लेख गरिएको छ ।
त्यस्तै कृषि ऐम्बुलेन्स सञ्चालनका लागि पहल गर्ने, कृषिमा पकेट क्षेत्रको अवधारणालाई निरन्तरता दिने, नगरपालिका भित्र भुमि बैकं स्थापना गर्ने, हाटबजार सञ्चालनका लागि पहल गर्ने, व्यवसाय ऋणमा सहुलियत कर्जा कार्यक्रमलाई निरन्तरता दिने, प्लाष्टिक टनेल, कृषि उपकरणमा अनुदान, एक वडा एक पहिचान कार्यक्रमलाई अगाडी बढाउने, कफी खेतीलाई नगरपालिकाको मुख्य बालीको रुपमा विकास गर्ने, गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिने विषय उल्लेख गरिएको छ ।
नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राखेमा मालपोत बाहेक थप शुल्क लिने र नगरपालिकाले नै खेतीयोग्य जमिन भाडामा लिने र खेतीगर्न ईच्छुक भएर पनि जमिन अभाव भएका व्यक्तिहरुलाई सहुलियत भाडामा प्रदान गर्ने नीति लिएको छ । सामुदायिक विकास अभियान अन्तर्गत समुदायको अनिवार्य १० प्रतिशत जनश्रमदान जुटाउने, कक्षा १-३ को स्थानीय पाठ्यक्रम निर्माणसगैं पाठ्यपुस्तक निर्माण गर्ने, बालमैत्री नगर ,जिरो होम डेलिभरी नगर र खरका छानामुक्त नगरपालिका घोषणा गर्ने, विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई लक्षित गरी चिकित्सक सहित “आधारभूत औषधी उपचार पाउने जनताको अधिकार ः वस्ती वस्तीमा डाक्टरी सेवा, घर घरमा स्वास्थ्य स्याहार” कार्यक्रम मार्फत घुम्ती अस्पताल सेवा सञ्चालनमा ल्याउने, अपागंता भएका व्यक्तिहरुको सहज जीवन यापनका लागि सीपमुलक तालिम सञ्चालन गर्ने, गरिबी तथा विपतका कारण घरबार विहिन भएकाहरुलाई आवास निर्माण गर्ने गरी “विपद र गरिवीमा हाम्रो नगरको भर : आवास क्षेत्र र शौचालय सुधार, घर नभएकालाई घर” कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
मुसिकोट नगरपालिकाका सार्वजनिक संस्थान तथा धार्मिक पर्यटकीय स्थानहरुको संरक्षण र सवंद्धनका लागि सार्वजनिक सम्पतिको सभांर कोष स्थापना गर्ने, विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, शिक्षालाई व्यवहारिक बनाउन शिक्षालाई शीपसगं,शिपलाई श्रमसगं श्रमलाई रोजगारीसगं रोजगारीलाई उत्पादनसगं र उत्पादनलाई बजारसगं जोड्न विविध शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्र्ने, कुर्घा स्वास्थ्य चौकीमा ल्याव स्थापना गर्ने, गर्भवतीसगं उपप्रमुख कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिने कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
पूर्णपाठ