बसाइँसराइले रित्तिदै गाउँघर : झाडी भए आँगन र पिँढी !

बसाइँसराइले रित्तिदै गाउँघर : झाडी भए आँगन र पिँढी !

Badigad Online
4 Min Read

सागर भण्डारी, गुल्मी । कतै ढुगांले त कतै टिनले छाएका चिटिक्कका घर । फराकिला आँगन, घर नजिकै ठुला ठुला बारी । गुजुप्प नभएपनि छिरलिएर बसेको बस्ती । तर ती घरहरु भने सुनसान । कुनैबेला दर्जनौँ बालबालिका हुर्काएको आगनमा अहिले खेल्ने कोही छैन झाडी नै बनेर झार उम्रिएको छ । ती घरहरुले मानिस आउने दिन कुरेर बसेका छन् ।

यो शब्दचित्र गुल्मीको मुसिकोट नगरपालिका-८ अर्छुङ गाउँको हो । कुनै बेलाको रमणीय यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ । त्यस गाउँका अधिकाशं घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आँगन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ ।

अर्छुङ मात्रै होइन, मुसिकोटका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।

४०/४५ घरधुरी रहेको अर्छुङ गाउँका अधिकाशं बसाईसराईका लागि सहर पसेपछि गाउँ सुनसान बनेको स्थानीय शिक्षक कुल बहादुर केसीले बताउनुभयो । गाउँमा रोजगारीका अवसर नहुनु, वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य जस्ता समस्याका कारण बसाईँ सर्नेहरु दिनानुदिन बढ्दै गईरहेको उहाँको भनाई छ । “गाउँमा रोजगारी छैन, उपचार गर्न स्तरीय अस्पताल छैन्, खास विकास गाउँमा भएन उहाँले भन्नुभयो, यस्तै अवस्था रहे गाउँ नै शुन्य हुने अवस्था छ ।”

शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीणर् भएका छन् । घर मात्रै जिणर् भएका छैनन् आफन्तहरुले जन्म घरप्रति माया मारेको आँगनमा उम्रिएका झाडीले प्रष्ट पारेका छन् ।

मुसिकोट नगरपालिका वडा नं ४ साविकको बडागाउँ गाउँ विकास समितिका विभिन्न ठाउँ पनि बसाईँसराईले रित्तिन थालेका छन् । स्थानीय गुञ्ज कार्कीका अनुसार बेदपानी, वडागाउँ टोल लगायतका ठाउँबाट मानिसहरु अधिक रुपमा बसाईँसरेका छन् ।

भैरहवाको कटैया टोलमा वडागाउँबासीहरुको एउटा गाउँनै बनेको उहाँको भनाई छ । वैदेशिक रोजगारीसगैं आर्थिक रुपमा सम्पन्न भएपछि सेवा सुविधा र विलाशिताको खोजिका लागि अधिकांशले बसाईँसराईँ गरिरहेको उहाँको भनाई छ । गाउँमा दलित समुदायका व्यक्तिहरु भने कम बसाईँसरेको उहाँले बताउनुभयो ।

१ सय ७९ घरधुरीले छाडे मुसिकोट

मुसिकोट नगरपालिकामा गत १ वर्षमा १ सय ७९ परिवारका ७ सय ४२ जनाले बसाईँसरी अन्यत्र गएका छन् । नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा उक्त संख्यामा बसाईसराईँ भएको छ ।

नगरपालिकाका ९ वटा वडाध्ये सबैभन्दा बढी वडा नं ५ बाट बसाईँसराई गरेका छन् । सो अवधीमा उक्त वडाबाट ३१ घर परिवारका १ सय २९ सदस्यले बसाईँसरेका हुन् । त्यस्तै सबैभन्दा कम वडा नं ३ मा ११ घरपरिवारका ४९ जनाले बसाईँसराईँ गरेको पञ्जीकरण शाखा प्रमुख विष्णु फुल्लेलले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं १ मा ३० परिवारका १ सय ३१ जना, वडा नं २ मा २६ परिवारका १ सय जना, वडा नं ४ मा १३ परिवारका ५५ जना, वडा नं ६ मा १७ परिवारका ७७ जनाले बसाईँसराईँ गरेका छन् । भने वडा नं ७ मा १४ घरपरिवारका ५६ जना, वडा नं ८ मा २२ घरपरिवारका १ सय जना र वडा नं ९ मा १५ परिवारका ४५ जनाले बसाईँसराईँ गरेका छन् ।

बसाईँसरी आउने २५ परिवार

मुसिकोट नगरपालिका भित्र बसाईँसरी जानेको अनुपातमा बसाईसरी आउनेको संख्या भने न्यून रहेको छ । १ वर्षको अवधीमा जम्मा २५ परिवारका १ सय ११ जना मात्रै नगरपालिका भित्र बसाईँसराई गरी आएका छन् । सबैभन्दा बढी वडा नं १ मा ८ परिवारका २८ जना र सबैभन्दा कम वडा नं ९ मा १ परिवारका २ सदस्य बसाईँसरी आएका हुन् । वडा नं २, ३ र ४ मा भने बसाईँसराईँ आउनेहरुको संख्या शुन्य छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित