बडिगाडमा प्रावि शिक्षक नै कांग्रेसको कोषाध्यक्ष !

बडिगाडमा प्रावि शिक्षक नै कांग्रेसको कोषाध्यक्ष !

Badigad Online
3 Min Read

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा राहत प्रावि शिक्षक नै नेपाली कांग्रेस वडा कमिटीको कोषाध्यक्ष भएको पाइएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ७ मा रहेको खड्ग जयन्ती माविकी प्रावि राहत शिक्षक अनिता गुरुङ नेपाली कांग्रेस वडा समितिको कोषाध्यक्ष भएको पाइएको हो ।

नेपाली कांग्रेस वडा नम्बर ७ का सभापति एवम् वडाध्यक्ष दिपेन्द्र केसीले अनिता गुरुङ पार्टीको कोषाध्यक्ष पदमा रहेको पुष्टि गरे ।

शनिबार विपीको ४१ औं स्मृति दिवसको अवसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रममा शिक्षक गुरुङ पार्टीको झण्डासहित ब्यानर समातेर सहभागी भएकी थिइन् ।

शिक्षक नै पार्टीको कार्यक्रममा जान मिल्छ र भन्ने प्रश्नमा सभापति केसीले भने,— ‘उहाँ हाम्रो पार्टीको कोषाध्यक्ष हो, विद्यालय विदाको समय भएकाले कार्यक्रममा आउनुभएको हो ।’

यता, गुरुङ कार्यरत रहेको खड्ग जयन्ती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश केसीले शिक्षकले कुनै राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था कानुनमा भएकोले यदी त्यस्तो भए समितिमा छलफल गरेर आवश्यक कारबाहीका लागि पालिकालाई सिफारिस गर्ने बताए ।

‘यो विषय आज मात्र थाहा भयो, हामी समितिमा छलफल गरेर, पालिकालाई आवश्यक सिफारिस गछौं’ केसीले भने ।

के छ कानुनी व्यवस्था ?

बडिगाड गाउँपालिकाको शिक्षा ऐन तथा नियमावली २०७९ ले कुनै पनि शिक्षक राजनीतिक दलको सदस्यता लिन नपाइने व्यवस्था गरेको छ ।

ऐनको परिच्छेद ४ मा विद्यालय तहको शिक्षक तथा कर्मचारीको दरबन्दी, सेवाशर्त र योग्यता सम्बन्धी दफा २३ को १ मा शिक्षक वा कर्मचारी कुनै राजनीतिक दलको सदस्य रहेको पाइएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा पालिकाले कारबाही गर्ने व्यवस्था रहेको छ ।

उपदफा (१) वमोजिम कुनै शिक्षक वा कर्मचारीलाई पदबाट हटाउनु पर्ने एथेष्ट प्रमाण प्राप्त भएमा गाउँपालिकाले निजलाई पदबाट हटाउन सक्नेछ । तर कार्यरत पदबाट हटाउनु अघि मानसिव माफीकको स्पष्टिकरणको मौका प्रदान गरिनेछ भन्ने उल्लेख गरेको छ ।

के भन्छ गाउँपालिका ?

बडिगाड गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले शिक्षक पेशागत संघ संगठनमा बस्न मिल्ने तर राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था रहेको बताए ।

‘पेशागत हकहितका लागि संगठनमा बसेर काम गर्न मिल्ने व्यवस्था छ, कुनै शिक्षकले पार्टीको सदस्यता लिएर पार्टीको काम गर्न पाउने व्यवस्था छैन,’ उनले भने, ‘कार्यपालिकामा पनि छलफल गरी शिक्षा ऐन, नियमावली अनुसार अघि बढ्छौं ।’

बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीसँग यस विषयमा बुझ्ने प्रयास गरेपनि फोन रिसिभ गरेनन् । यस अघि पार्टीको लागेको भन्दै गाउँपाालिकाले एक जना शिक्षकलाई स्पष्टिकरण सोधेको थियो । यसपटक भने के कारबाही गर्ने हो हेर्न बाँकी छ ।

विवादकै बिचमा भएकी थिइन् गुरुङ विद्यालयमा नियुक्त

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको स्वकीय सचिव कृष्ण गुरुङकी श्रीमती समेत रहेकी अनिता गुरुङ विवादकै विच विद्यालयमा नियुक्ति भएकी थिइन् ।

केही महिना अघि गाउँपालिकाले लिएको लिखित परीक्षाको प्रश्नपत्र आउट बनाएर उनलाई नियुक्त गरिएको आरोप लागेको थियो ।

नियुक्ति हुन भन्दा अघि न्यूज खरीले कांग्रेस सभापतिको श्रीमतीलाई जागिर खुवाउन चलखेल भन्ने शीर्षकमा समाचार पनि प्रकाशित गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित