सागर भण्डारी । स्वदेशमै सम्भावना खोज्न सके थुपै्र अवसरहरु छन् भन्ने उदाहरण बनेका छन् बागलुङको बडिगाड गाउँपालिका वडा नं-५ का बालकृष्ण अर्याल । उमेरले ७८ वर्ष लाग्दै गरेका अर्यालको पौरख धेरैका लागि प्रेरणादायी छ ।
आफ्नो जीवनकालको ३८ वर्ष शिक्षण पेशामा बिताएका अर्याललाई यो माटो प्रति निकै लगाव छ । ३२ वर्ष भानु माध्यमिक विद्यालयको प्रधानाध्यापक भई रिटायर्ड उनलाई सबैले “हेडमास्टर” भनेर चिन्छन् ।
तर उनको परिचय त्यतिले मात्रै पुग्दैन अचेल उनलाई “पौरखी हेडमास्टर” भनेर धेरैले सम्बोधन गर्छन् । अर्यालले गुल्मीको मुसिकोट नगरपालिका वडा नं- १ भ्रमचौरमा पश्चिम गुल्मीमै पहिलो पटक ड्रयागन खेती सुरुवात गरेका छन् । अर्यालले साढे २ वर्ष अघि सुरु गरेको खेती अहिले फल लाग्न थालेको छ ।
“मैले केही अस्ट्रेलिया र केही काठमाण्डौबाट बिरुवा ल्याएर ड्रयागन खेतीलाई परिक्षणको रुपमा सुरु गरेको हुँ, अर्यालले भने- अहिले मेरो उद्धेश्य पुरा हुन थालेको छ फल लाग्न थालेको छ ।”
उनले १४ रोपनी क्षेत्रफलमा झण्डै १२ सय विरुवा लगाएका छन् । ३ सय पोल मध्ये एउटा पोलमा ४ वटा विरुवा रहेका छन् । बिरुवा र बोटको सपोर्टका लागि चाहिने पिल्लर निर्माण सहित अन्य विभिन्न लगानी गरेर झण्डै २० लाख लागत लागेको अर्यालले बताए । सबै बोटले फल दिएमा यो सिजनमा मात्रै ५ क्विन्टल उत्पादन हुने र जसबाट ५ लाख आम्दानी हुने अपेक्षा गरेको उनले बताए ।
आफुले आर्थिक समृद्धि हासिल गर्न भन्दा पनि समाजलाई सम्भावना खोजिदिएको उनले बताए । “मैले पैसा कमाउने उद्धेश्यले यो खेती सुरु गरेको हैन रोजगारी र अवसरमा भौँतारिने युवा पुस्ताका लागि यो पनि गर्न सकिन्छ है भन्ने उदाहरण दिन खोजेको हुँ,- उनले भने ।
अर्यालका १ छोरा अस्ट्रेलिया र अर्का छोरा रोजगारीका लागि अमेरीकामा छन् । छोराहरुलाई विदेशबाट फर्काउने समेत आफ्नो उद्धेश्य रहेको अर्याल बताउँछन् । “यो खेतीलाई अझै विस्तार गर्दै लग्न सकेमा बर्षमा करोडौँ आम्दानी गर्न सकिन्छ उनले भने- विदेशमा रहेका छोरालाई समेत नेपाल फर्काएर यही खेतीमा लगाउने मेरो सोँच छ ।”
विरुवाको न्यूनतम आयु २० देखि २५ वर्षसम्म हुने उनको भनाइ छ । उनले ७-९ फिटमा रोपेका छन् । विरुवा र पिल्लरमा एकपल्ट लगानी गरेर फल दिन थालेपछि बर्षौँसम्म रोप्न नपर्ने केबल त्यसको स्याहार सुसार, गोडमेल र सिँचाई गरे पुग्ने भएकाले अन्य खेती भन्दा यसको खेतीबाट राम्रो आम्दानी गर्न सकिने अर्यालको भनाई छ ।
उत्पादन गर्न सकेमा बजारको समेत चिन्ता नहुने अर्यालको विश्वास छ । “यो फलफुल प्राय कम खेती गरिन्छ भने बजारमा पनि राम्रै माग छ, स्थानीय बजारमै खपत हुन्छ भन्ने मलाई विश्वास छ अर्याले भने ।”
ड्रयागन फ्रुटको सुकेको फूललाई ‘ग्रिन टी’को रूपमा समेत प्रयोग गर्न सकिने र यसको बिरुवा पनि गुणकारी हुने विज्ञहरू बताउँछन् ।
‘ड्रयागन फ्रुट रसिलो, गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टिअक्सिडेन्ट युक्त यो फल नयाँ फल भएकाले पनि उपभोक्ताले बढी रुचाउने गरेका छन् । विशेषज्ञहरूका अनुसार ड्रयागन फ्रुट विशेष गरी सुगर र कोलेस्ट्रोलका बिरामीहरूका लागि अति उपयुक्त मानिन्छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइने भएकोले सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ ।
यो एन्टिअक्सिडेन्टको राम्रो श्रोत भएकाले बाथ रोगका बिरामीहरूलाई धेरै लाभदायक छ । त्यति मात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ । यो फलको सेवनले शरीरको तौललाई सन्तुलन राख्न मद्दत गर्छ । यसले मानिसलाई सधैँ जवान राख्न भूमिका खेल्ने र बुढो हुने प्रक्रिया पनि ढिलो गराउँछ । यो भिटामिन र मिनिरल्सको राम्रो श्रोत हो ।