जापानवासी युवाको सहयोगमा गलकोट नगर अस्पतालमा ’अल्ट्रासाउन्ड’ मेसिन जडान

जापानवासी युवाको सहयोगमा गलकोट नगर अस्पतालमा ’अल्ट्रासाउन्ड’ मेसिन जडान

Badigad Online
2 Min Read

बागलुङ । बागलुङको गलकोट नगर अस्पताललाई जापानवासी युवाले ३५ लाख रुपैयाँको ’अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेका छन् । ’अल्ट्रासाउन्ड’ उपकरण बिहीबार गलकोट समाज जापानका उपाध्यक्ष अमर भण्डारीले अस्पताललाई हस्तान्तरण गरेका हुन् । समाजले यसअघि नगर अस्पताल संचालनका लागि दर्जनौं सामग्री, उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो ।

अस्पताल संचालन गर्न समाजमार्फत एम्बुलेन्ससमेत सहयोग आएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । अस्पतालभित्रै डेन्टल मेसिन, भिडियो एक्स-रे,आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सीलगायतमा पनि समाजबाट सहयोग आएको छ ।

एक वर्षदेखि गलकोटमा नगर अस्पताल १५ शय्याको क्षमतामा संचालनमा छ । यहाँ एमडीजीपी डाक्टर राजेश पौडेलसहित दुई जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरेपछि अस्पतालमा दैनिक १ सय ७० जनासम्म बिरामीले उपचार सेवा पाएको तथ्यांक छ ।

‘यति धेरै जनताले नियमित सेवा पाउने भएपछि हामीले जापानमा बसेर पनि सहयोग जुटायौं,’ गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले भनिन्, ‘गाउँको विकासमा विदेशमा बसेर पनि धेरैको चिन्ता र चासो छ ।’ सहयोग भित्र्याउन नगर प्रमुख गैरेसहित स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेल र वडाध्यक्षहरुले पनि साथ दिएको थापाले बताइन् ।

गलकोट समाजले स्थानीय बिरामी पर्दा उपचार खर्च, खेलकुद कार्यक्रम हुँदा पुरस्कार र सामग्री खर्च पनि जापानबाट पठाउने गरेको छ । भूकम्पको बेला सिन्धुपाल्चोकमा पुगेर विद्यालय उनीहरुले बनाइदिएका थिए । गाउँमा उपचार नपाएर थलिएका तथा दुर्घटनामा परेका बिरामीलाई उपचारमा पनि लाखौं सहयोग गरेको अध्यक्ष थापाले बताइन् ।

दशकदेखि सक्रिय गलकोट समाज जापानले नगरभित्रका क्रियाकलापमा मात्रै १८ करोडभन्दा बढी रकम सहयोग गरेको दाबी गरिएको छ । ‘जापानबाट नियमित आउने सहयोग र निगरानीबाट हामीले व्यवस्थापन चुस्त बनाएका छौं,’ अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने, ‘आधुनिक उपकरण भित्रिंदा उपचारमा पनि सहयोग भएको छ ।’

पोखरा र काठमाडौं जानुपर्ने बिरामीले गलकोटमै सेवा पाएको उनले बताए । अस्पतालले भदौभित्रै अपरेसन सेवा पनि संचालनको तयारी गरेको छ । कान्तिपुरबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित